काठमाडौं,७ माघ ।
संविधान संशोधनको विषयमा मुख्य तीन दल र मधेसी मोर्चाका शीर्ष नेताबिच भएको छलफल बिना निष्कर्ष सकिएको छ ।
बैठकमा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आक्रोशित मुद्रामा बाहिरिनुभएको छ ।
‘चार महिना अगाडी मधेसका मुद्दा समाधान गर्ने विषयमा कुरा जहाँ थियो अहिले पनि त्यहि नै छ, सरकार समस्या समाधानका लागि गम्भीर भएन’ यादवले भन्नुभयो, ‘यो सरकारले देशमा देखिएका कुनैपनि समस्याको समाधान गर्न सक्दैन ।’
बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको हो । मोर्चालाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयक पारित गर्ने मुख्य दलको तयारी भएपनि बैठकबाट कुनै निष्कर्ष निस्किएन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस, एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकको बैठकले मोर्चालाई समेत विश्वासमा लिएर संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो ।
शनिबार ९ गतेसम्म मोर्चासँग सहमति नभएपनि विधेयक पारित गर्ने नेताहरुले बताइसकेका छन् । संसदमा संविधान संशोधन विधेयकमाथिको दफाबार छलफल पनि बिहीबारदेखि सुरु हुँदैछ ।
मंगलबारदेखि छलफल हुने भनिएपनि मोर्चालाई सहमतिमा ल्याउनको लागि सारिएको हो । दफाबार छलफलपछि शनिबार संशोधन विधेयक पारित गर्ने र विधेयक पारित भएपछि भारतले रक्सौल नाका पनि खोल्ने दलहरुको विश्वास छ । संविधान संशोधन हुन कम्तीमा दुई तिहाई सांसदको समर्थन चाहिन्छ ।