काठमाडौं, ७ माघ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा संविधान संशोधनका लागि संसदमा सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई मनाउन भन्दै प्रमुख दलहरुले संशोधन प्रस्तावको छलफललाई दुई दिन पछि सार्न आग्रह गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक माघ ७ गतेका लागि बोलाउनु भएको हो ।
विहान ११ बजे बस्ने बैठकमा सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि माघ ९ गते बस्ने बैठकले संविधान संशोधनको प्रक्रिया अघि बढाउने छ ।
यसअघि बसेको संसद बैठकमा मधेसी मोर्चाका सांसदहरुले आफ्ना माग सम्बोधन गर्न प्रमुख तीन दल गम्भीर नभएको भन्दै संसद बैठक बहिष्कार गरेका थिए।
मोर्चाले तराईमा दुई प्रदेश गराउने सुनिश्चितता नभएसम्म वार्तामा बस्नुको कुनै औचित्य नरहेको बताउँदै आएको छ ।