काठमाडौ ५ माघ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो एक बजेपछि बस्ने आजको बैठकमा संसदमा पेश भएको संविधान संशोधन विधेयक अघि बढाउने कार्यसुची रहेको छ ।
संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन भन्दै लामो समय स्थगित बैठक आज बस्न लागिएको हो । संशोधन विधेयक सर्वसहमतिले पारित गर्ने विषयमा आन्दोलनरत मधेशी मोर्चा र मुख्य तीन दलबीच सहमति जुट्न नसेपछि प्रस्ताव सिधै संसदमा पेश गर्ने तयारी भएको छ ।
बैठकअघि मधेशी मोर्चासँग सहमतिको अन्तिम प्रयास गरिने नेताहरुले बताएका छन् । यद्यपी मोर्चासँग सहमति नजुटेपनि आजको बैठकमा संशोधन विधेयक अघि बढाउने दलहरुको तयारी रहेको छ ।
तराई मधेशमा दुई प्रदेश बनाउने विषय संविधानको अनुसुचीमै राख्नुपर्ने मोर्चाको प्रस्ताव मुख्य दलले अस्विकार गरेपछि कार्यदल स्तरमा सकारात्मक भएको भनिएको बैठक पुनः बाँडिएको छ ।
यसैबीच दलीय सहमति जुट्न नसकेपछि संशोधन प्रस्तावको आगामी प्रक्रियाका विषयमा सभामुख ओनसरी घर्तीले आज विभिन्न दलका प्रमुख सचेतकसँग छलफल गर्दै हुनुहुन्छ ।
त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । लामो समयसम्म मुलुक बाहिर रहनु भएकाले पछिल्लो घट्नाक्रमका बारेमा जानकारी लिन सचेतकको बैठक बोलाएको सभामुखका प्रेससल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।