मिसन पर्यटन पाँच ‘चर’ र सात ‘स’ अवधारणा

मिसन पर्यटन पाँच ‘चर’ र सात ‘स’ अवधारणा

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, ३ माघ ।

मुलुकको अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पाँच ‘चर’ र सात ‘स’को नयाँ अवधारणाको आवश्यकता औँल्याइएको छ ।

भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटनलाई गति दिन विगतका वर्षमा विभिन्न नाराका साथ अभियानको रुपमा चलाइको मिसन पर्यटनजस्तै अहिलेको सन्दर्भमा नयाँ अवधारणा ल्याइएको हो । पर्यटन प्रवद्र्धनका लागि नीतिगत योजनाका साथ मिसनमा लागेको सरकारले विगतका विभिन्न विपद्को सामना र सङ्क्रमणबाटै सम्भावना खोज्नेगरी प्रवद्र्धन तथा प्रचारात्मक अभियानलाई जोड दिएको छ ।

यसै सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रवद्र्धनलाई परिणाममुखी बनाई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्ने हेतुका साथ रणनीतिक योजनामा जुटेको छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अहिलेको अवस्थामा मुलुकको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने मात्र नभई भोलिका दिनमा उनीहरुको सङ्ख्या र बसाई समय बढाउनका लागि पाँच ‘चर’ उहाँका अनुसार प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र सङ्ख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकैरुपमा लैजान जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५२औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनको यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन क्षेत्रलाई बाह्रै महिना सञ्चालन गरी बढी विदेशी पर्यटक भित्र्याउन विशेष योजना ल्याइने बताउनुभयो । सचिव थपलियाले भन्नुभयो, “पर्यटन सँगसँगै हैन, अब पर्यटन सँधैसँधै अर्थात पर्यटनलाई बाह्रै महिना सञ्चालन गर्नुपर्छ, स्थानीय केन्द्रीय हुँदै अन्तराष्ट्रियकरण गरी एकीकृत विकास गर्न जरुरी छ ।”

उहाँका अनुसार प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ र ‘इन्फ्रास्ट्रक्चर’ प्राथमिकिकरण गरी सात ‘स’लाई विशेष अभियानका रुपमा अघि बढाइनेछ । मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको क्षमता अभिवृद्धि गरी विमानको सङ्ख्या बढाउने, दुर्गम जिल्लामा हवाई सेवाको पहुँच विस्तार गर्ने तथा काठमाडौँ उपत्यका नजिकका पर्यटकीय गन्तव्यमा पर्यटकस्थल बनाउने सरकारको योजना रहेको र त्यसलाई चाँडै कार्यान्वयनमा ल्याइने पनि सचिव थपलियाले बताउनुभयो ।

पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले विपद्मा परेको पर्यटनलाई गति दिई बढी पर्यटक भित्र्याउन सरकारले विगतका वर्षमा झै विशेष अभियान चलाउन जरुरी छ भन्नुभयो । पूर्वपर्यटन सचिव दिपेन्द्र पुरुष ढकालले गितमा चलाइएको ‘नेपाल भ्रमण वर्ष’जस्तै राष्ट्रिय अभियान चलाएर छिमेकी देश चीन र भारतका पर्यटकलाई आकर्षण गर्ने विशेष आकर्षक योजना ल्याइनुपर्ने खाँचो औैँल्याउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटक बढी भित्र्याउने सम्भावना रहेको देश चीनबाट पर्यटक आकर्षित गर्न प्रभावकारी योजनाका साथै त्यस अनुरुपको प्रचारप्रसार र बजारीकरण गर्न जरुरी भएको बताउनुभयो । नाट्टाका अध्यक्ष डिबी लिम्बु र पूर्वअध्यक्ष अम्बिका श्रेष्ठले पर्यटन क्षेत्रको जेठो संस्थालाई व्यावसायिक एकता र सुदृढ तुल्याई पर्यटन प्रवद्र्धनमा सक्रिय बनाइनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनको मत परिणाम साँझसम्म आउने बताइएको छ । नाट्टाको पदाधिकारीसहित १५ सदस्यीय नयाँ कार्यसमितिका लागि ४५४ मतदाता रहेका छन् । निर्वाचनमा मधुसुदन आचार्य, मिहिका धाख्वा र शम्भू पाठकको समूहबीच प्रतिस्पर्धा हँुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ