काठमाडौ ३ माघ ।
आगामी संसद बैठक बस्नु अघि नै आन्दोलनरत मधेशी मोर्चासँग सहमति गर्ने प्रयासमा जुटेका मुख्य दलहरुले आजपनि कार्यदल स्तरमा मोर्चासँग छलफल गर्ने भएका छन् । यद्यपी बैठकको समय भने तय भएको छैन ।
मोर्चाले राखेका ११ बुादे माग सम्बोधनका लागि प्रस्तावित राजनितिक संयन्त्रको कार्यविधि पेश गरिसकेका तीन दलले आज यसको क्षेत्राधिकारबारे मोर्चासँग छलफल गर्ने तयारी गरेको हो ।
संयन्त्रको क्षेत्राधिकारका बारेमा हिजोको बैठकमा मोर्चाले प्रश्न उठाएपछि तीन दलले आज यसको प्राविधिक पक्षबारे आश्वश्त पार्ने बताइएको छ ।
मोर्चाले भने सिमांकन हेरफेरको माग सम्बोधन नहुन्जेल जारी वार्ता निष्कर्षमा नपुग्ने बताएको छ । यसैबीच प्रमुख तीन दलले संयन्त्रको कार्यक्षेत्र र वैधानिकतामा छलफल लम्बिएपनि पर्सि बस्ने संसद बैठकमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
संविधानको संशोधनले समानुपातिक समावेशिता र निर्वाचन क्षेत्रको माग सम्बोधन हुने भएकाले संयन्त्रको क्षेत्राधिकारलाई लिएर विवाद गर्नुको अर्थ नरहेको तीन दलको भनाई छ ।