काठमाडौं, २९ पौष ।
युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित सिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरेको छ । मन्त्रालयले १७ वटा क्षेत्रमा साक्षरदेखि कक्षा १२ सम्म उत्तिर्ण गरेका युवालाई लक्षित गरी विभिन्न सिपमुलक तालिम सन्चालन गर्ने तयारी गरेको हो ।
तालिम अन्तरगत बेमौसमी तरकारी खेती, गाइपालन, बाख्रापालन, ब्यूटिसियन, खाद्य तथा फलफूल प्रशोधन, स्टिल फिक्चर्स, सुरक्षा गार्ड, विषादी र रसायनिक मल प्रयोग विधि लगायत समावेश गरिएको छ ।
यी क्षेत्रमा एक हजार ४० जनालाई तालिम दिन मन्त्रालयले आवेदन माग गरेको छ । आवेदन दिएकामध्ये छनौट भएकालाई १५ दिनदेखि ३ महिनासम्मको तालिम दिन लागिएको मन्त्रालयले जनाएको छ ।
तालिममा सहभागी हुन चाहानेले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीसहित घरेलु तथा साना उद्योग कार्यालय वा घरेलु तथा साना उद्योग विकास समितिमा सम्पर्क गर्न सकिने जनाएको छ ।