काठमाडौं,२८ पुस ।
कुवेतस्थित नेपाली दूतावासले अवैध रुपमा कुवेतमा बस्दै आएका नेपालीलाई जरिवाना तिरेर स्वदेश फर्कन वा भिसा लगाएर वैध कामदारको रुपमा बस्ने प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।
कुवेत सरकारले आवसीय कानुन उल्लंघन गरी विनाभिसा गैरकानूनी रुपमा कुवेतमा बस्दै आएका विदेशी कामदालाई जरिवाना तिरेर आफ्नो देश फर्कन वा भिसा लगाएर कुवेतमा बस्न पाउने गरी आममाफीको घोषणा गरेपछि दृतावासले यस्तो आग्रह गरेको हो । ।
कुवेत सरकारको यो घोषणा अनुसार गैरकानूनीमा रुपमा कुवेतमा बस्दै आएका नेपाली कामदालाई नजिकको भिसा कार्यालय वा विभागमा गएर जरिवाना तिरी नेपाल फर्किने वा भिसा लगाएर कुवेतमा वैध भएर काम गर्न पाउने अवसरको सदुपयोग गर्न दूतावासले सूचना निकालेर आग्रह गरेको हो ।
अवैध भएर बसेका कामदारले प्रतिदिनको दुई कुवेती दिनार तिर्नु पर्छ । अधिकतम रुपमा ६ सय कुवेती दिनार तिरेर वैध हुन सकिनेछ । कुवेत सरकारले गएको आइतबारदेखि यो अभियान सुरु गरेको हो ।
यो अवसरलाई उपयोग नर्गने तथा वैध रुपमा कुवेत बस्नका लागि प्रक्रिया पूरा गर्न नसक्नेलाई फेरि कुवेत आउन नपाउने गरी स्वदेश पठाइने कुवेत सरकारले जनाएको छ ।