काठमाण्डौ ,२७ पुस ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी सभापति सुशील कोइरालाको समर्थनमा नै आगामी १३ औं महाधिवेशनमा आफुले सभापतिका लागी उमेद्वारी दिने बताउनु भएको छ ।
आफ्नो उमेद्वारी पार्टीको आवश्यकता भएको भन्दै उहाले त्यसमा कोइरालाको समेत समर्थन रहेको दावी गर्नुभएको हो ।
राजधानीमा आज रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै उहाँले निष्ठा, योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन मुलुकभरका कार्यकर्ताले आफुलाई सभापतिमा उमेद्वारी दिन सुझाव दिएको दावी गर्नुभयो । औपचारिक रुपमा उमेद्वारी घोषणा नगरेका पौडेलले आन्तरिक छलफल जारी रहेकाले केही दिनभित्रै उमेद्वारीबारे प्रष्ट हुने जानकारी दिनुभयो ।
भारतमा गान्धी परिवारको उदाहरण दिदै पौडेलले घुमाउरो शैलीमा कांग्रेस भित्र बिरासतको राजनीतिको महत्व रहेको बताउनुभयो । बिगतमा आफुलाई गरेको प्रतिबद्धता कार्यान्वयन भएको गुनासो गर्दै उहाँले भागबण्डाको अन्त्य गरेर पार्टीमा मुल्याङकनको पद्धतिको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
पौडेलले बर्तमान सरकार प्रति आफ्नो धेरै टिप्पणी नभएको भन्दै काग्रेसलाई अहिले सरकारको हतारो नभएको स्पष्ट पारे । सरकारले सुरुवाती काम राम्रो देखिएको बताउदै उहाँले भारतसँगको समस्या समाधानका लागि कुटनीतिक सक्रियता देखाउन नसकेको आरोप लगाउनुभयो ।
उपसभापति पौडेलले संविधान संसोधन पछि सबै कुरा सम्बोधन हुने भन्दै अर्को आन्दोलन नहुने गरी सीमांकन टुङग्याउन राजनीतिक समिति गठनको प्रस्ताव गरेको बताउनुभयो ।