राजविराज पुस २६ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनका कारण विगत पाँच महिनादेखि जिल्लामा सरकारी कार्यालय, वैक वित्तिय संस्था, अदालत र यातायात सञ्चालनमा आउन नसक्दा सप्तरीवासी पिडामाथि पिडा खेप्न बाध्य भएका छन् ।
पहिलो संविधानसभामा मधेशी मोर्चा र सरकार विच भएको सम्झौता कार्यान्वयन हुनुपर्ने प्रमुख माग अघि सार्दै मोर्चाले थालेको आन्दोलनका कारण गत साउन ३० गते देखि बन्द भएको सरकारी कार्यालय, बैंक, वित्तिय संस्था, अदालत र यातायात ५ महिना वित्न लाग्दा पनि अझै सुचारु हुन नसक्दा सर्वसाधारण पीडा खेप्न बाध्य भएका हुन् ।
यद्यपि मोर्चाले सर्वसाधारणको आग्रहमा कहिलेकाही बैंक तथा वित्तिय संस्थाहरु खोल्न दिएपनि सरकारी कार्यालय र यातायात भने सञ्चालन गर्न दिएको छैन । सुरक्षा स्कटिगंमा राजमार्ग क्षेत्रमा राती राती यातायात सञ्चालनमा ल्याए पनि दिन भर राजमार्ग क्षेत्रमा समेत यातायात सेवा ठप्प रहने गरेको छ ।
सदरमुकाम राजविराजवाट भने विगत पांच महिना देखि चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैन् । जसका कारण यातायात व्यवसायी र त्यसमा आश्रित मजदुरको दैनिकी कष्ठकर बनेको छ ।
सगरमाथा यातायात संघ राजविराजका सचिव दिनेश प्रसाद साहले पाँच महिना वित्न लाग्दा पनि राज्यले आन्दोलनरत पक्षसँग वार्ता गरि समाधानको गम्भिर प्रयास नगर्दा आफुहरुको व्यवसाय संकटमा परेको बताए ।
यस्तै यातायात मजदुर नेता वसन्त साहले लामो समयदेखि यातायात थप हुदाँ त्यसमा आश्रित मजदुरहरुलाई हातमुख जोर्न समस्या भएको बताए । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले हालसम्म जिल्ला स्थित नापी, भुसंरक्षण, कोष तथा लेखा नियन्त्रण ,वन, पशु, शिक्षा, राष्ट्रिय वाणिज्य वैक लगायत आधा दर्जन सरकारी कार्यालय तोडफोड र आगजनी गरिसकेका छन् ।
त्यस्तै एक दर्जन भन्दाबढि सवारी साधन समेत तोडफोड र आगजनी गरिसकेका छन् । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर सप्तरीमा हालसम्म ६ जनाको ज्यान गईसकेको छ भने ७२ जना प्रदर्शकारीहरु घाइते भइसकेका छन् ।
जसमध्ये गम्भिर घाइते भएका १३ जनाको अहिलेपनि विभिन्न अस्पालतमा उपचार भईरहेको मोर्चाले जनाएका छन् । दिनहु प्रर्दशन र विरोधसभाकै कारण कार्यालय र यातायात सञ्चालन गर्न जोखिम पूर्ण भएको भन्दै अधिकांश कार्यालय प्रमुख र यातायात व्यवसायीले सेवा सुचारु गर्ने हिम्मत जुटाउन सकेको छैन ।
लामो समयदेखि सरकारी कार्यालय र यातायात नचल्दा सेवाग्राही र यात्रुको विचल्ली भएको छ । टाढा टाढाबाट साइकल र मोटर साइकल लिएर अत्यावश्यक कामले सदरमुकाम आउने सर्वसाधारण कार्यालय बन्द हुँदा निरास भई फर्किन बाध्य देखिन्छन् ।
ग्रामिण क्षेत्रबाट पटक पटक वैंकमा रहेको पैसा झिक्न तथा मालपोत कार्यालयमा जग्गा रजिष्र्टेशनको काम लिएर आउने मध्यका एक सेवाग्राही लक्ष्मणकुमार राय लगातारको बन्दले काम नहुदाँ निरास भई फर्किनुपरेको दुखेसो सुनाउदै राज्यले अभिलम्व समस्या समाधान गर्नुपर्ने बताउँछन ।
यता, प्रमुख जिल्ला अधिकारी नारायण भट्टले कार्यालय र यातायात खुलाउन आफुले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् । उनले यसका लागि पटक पटक कार्यालय प्रमुख, स्थानिय वुद्धिजीवी, सरोकारवाला तथा आन्दोलनरत मधेशी मोर्चासँग पनि वृहत छलफल र अन्तरकृया कार्यक्रमको आयोजना गरि कार्यालय र यातायात खुलाउन आवश्यक सवै प्रयास गरिएको जानकारी दिदै चाडै ती सेवाहरु सहज रुपमा सुचारु हुने विश्वास व्यक्त गरे ।
अर्कोतीर विगतमा भएको सहमति र समझौता कार्यान्वयनको माग गर्दै यहाँ मोर्चाले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिदै दिनहू प्रदर्शन र विरोभसभाको आयोजना गर्दै आएको छ ।
जिल्लामा कृयाशिल सवै मधेशवादी दलहरु आवद्ध संयुक्त मधेशी मोर्चाको अगुवाईमा दैनिक आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । यसै क्रममा आइतवारपनि यहाँ मशाल जुलुस प्रदर्शन गरिएको छ ।
मोर्चाका स्थानिय नेताहरुले माग पुरा नभएसम्म आन्दोलन नरोकिने अडान दोहो¥याएका छन् । मोर्चाका नगर समितीका संयोजक उमेश प्रसाद साहले निर्णायक आन्दोलन भएकाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
त्यस्तै तमलोपाका केन्द्रिय सदस्य जयप्रकास ठाकुरले मधेशको अस्मीताको लडाई भएकाले अधिकार प्राप्त नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए । अर्कोतर्फ वौद्धिक समाज सप्तरीका अध्यक्ष प्रा. अमरकान्त झाले तीन दलले मधेशको माग सम्वोधन गर्न ढिलाई गर्द स्थिती अझ विष्फोटक हुने समभावना व्यक्त गर्दै सरकारले अविलम्व मधेशको जायज मागं सम्वोधन गरी मुलुकलाई निकास दिनुपर्ने बताए ।
लामो बन्दका कारण पिडा खेप्दै आएका स्थानियवासीले चाडै सरकार र मोर्चा विचको वार्ता सफल होस र मधेशकोमागं पुरा भई जनजीनव समान्य बनोस् भन्ने कामना गरिरहेका छन् ।