राष्ट्रिय पुनःनिर्माण अभियानको शुभारम्भ माघ २ गतेदेखि

राष्ट्रिय पुनःनिर्माण अभियानको शुभारम्भ माघ २ गतेदेखि

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माण कार्यको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी गर्नुहुने भएको छ ।

‘वैशाख १२ मा गइहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ माघ २ गते १८ औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ । अठारौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो दिन बिहान ११ः५६ बजे शान्ति बाटिकामा राष्ट्रपतिले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको थालनी भएको घोषणा गर्ने कार्यक्रम छ । गत वैशाख १२ गते सोही समयमा ‘गोरखा भूकम्प’ गएको थियो ।

सोही दिन प्रधानमन्त्रीले कार्यविनायक नगरपालिकास्थित बुङ्मती क्षेत्रको पुनःनिर्माणको गुरुयोजना लोकार्पण गर्नुहुनेछ । प्रारम्भमा मुलुकका ५८ नगरपालिका, नगरपालिका घोषणा नभएका २८ जिल्ला सदरमुकाम र ७६ नगरोन्मुख गाविसमा विसं २०६२ मा राष्ट्रिय भवनसंहिता लागू गरिएको थियो । ललितपुर उपमहानगरपालिकाबाट सुरु गरिएको सो कार्यक्रम हाल २१७ नगरपालिकामा लागू गर्ने प्रस्ताव गरिएको समितिका संयोजक एवम् सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रमेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

“भवनसंहिताको कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, यसका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकाका कार्यकारी अधिकृतसँग परामर्श गरी दुई वर्षभित्र भवनसंहिता लागू गर्ने कार्य अगाडि बढाएको छ”–उहाँले भन्नुभयो ।

योजनाबद्ध तरिकाबाट भवनसंहितालाई लागू गर्ने प्रक्रियालाई कार्यान्वयन गर्ने आवश्यकता महसुस गरी छ महिनाभित्र भवनलाई भूकम्पीय दृष्टिकोणले मात्र नभई अन्य प्राकृतिक विपद्ले समेत सुरक्षित हुने गरी भवन निर्माण राष्ट्रिय कार्ययोजना सरकारबाट स्वीकृत गराई कार्यान्वयनमा लगिने बताइएको छ ।

पुनःनिर्माणमा करिब ५० हजार तालिमप्राप्त निर्माणकर्मीको आवश्यकता छ । आवश्यकता पूर्ति गर्न सहरी विकास मन्त्रालयबाट निर्माणकर्मीको तालिममा एकरुपता ल्याउन भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सञ्चालन कार्यविधि २०७२ स्वीकृत भएको मन्त्रालयका प्रवक्ता पद्मकुमार मैनालीले जानकारी दिनुभयो । “यसका लागि विभागको पहलमा १२ हजार ५०० निर्माणकर्मीलाई तालिम दिइएको छ, यस वर्ष एक हजार निर्माणकर्मीलाई कालीगढ तालिम दिने योजना छ, १६ संस्थालाई तालिम दिन स्वीकृति दिइएको छ”–उहाँले भन्नुभयो ।

सो अवसरमा विसं १८३३ र १९३३ मा पनि बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यस पटक १३९ वर्षपछि फेरि बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएकाले बारपाकदेखि सिन्धुपाल्चोक र दोलखासम्मको भागमा बस्ती राख्ने, नराख्ने भनी अध्ययन हुन आवश्यक रहेकामा जोड दिइएको थियो ।

गृह मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले भूकम्पबाट प्रभावित पाँच लाख दुई हजार ९५३ परिवारलाई न्यानो कपडाका लागि रु १० हजारका दरले सहयोग गरिएको बताउनुभयो । “मृतकका परिवार र अस्थायी घर टहरा बनाउनका लागि रु २१ अर्ब दिइएको छ, न्यानोका लागि रु पाँच अर्ब खर्च भएको छ”–उहाँले भन्नुभयो ।

नेपाल प्रहरीले पाँच विकास क्षेत्रमा विपद् कार्यदल स्थापना गरेको छ । कार्यदलमा एक हजार ७१ प्रहरीलाई खटाइएको छ । सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ