काठमाण्डौ, २३ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख ३ दलले अघि सारेको सिमाकंन बिवाद राजनीतिक संयन्त्र मार्फत टुंग्याउने प्रस्तावमाथी आन्तरिक छलफल थालेको छ ।
मोर्चाको आज बसेको बैठकमा संयन्त्र मार्फत ३ महिनाभित्र सिमाकंन विवाद टुग्याउने बिषयमा छलफल भएको हो । ३ दलको सो प्रस्ताव सकारात्मक भएपनि संयन्त्रको क्षेत्राधिकार, बैद्यानिकता लगायत बिषयमा भने सरकारबाट ठोस प्रस्ताव आउनुपर्नेमा मोर्चाको माग छ ।
मोर्चाको भोली विहान पुनः बस्ने बैठक मार्फत ३ दलको पछिल्लो प्रस्ताववारे थप छलफल गरि धारणा सार्वजनिक गरिने नेताहरुले बताएका छन् । आजको बैठकमा मोर्चाले ५ महिना देखि जारी आन्दोलनको समीक्षा समेत गरेको छ । तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले भोली पुन ः बस्ने बैठकले आमहड्ताललाई जारी राख्दै नाका धर्ना लगायत कार्यक्रमलाई निरन्तरता दिने नदिने बारे थप निर्णय हुने जानकारी दिनुभयो । उहाँका अनुसार, सम्भवत ः भोलीको बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ ।
यसैबीच आजको बैठकमा सद्भावना पार्टी समेत सहभागी भएको छ । बैठकमा सो पार्टीका महासचिव मनिष सुमन सहभागी हुनुहुन्थ्यो । पछिल्ला बैठकहरुमा अनुपस्थित रहंदै आएको सद्भावनाले प्रमुख तीन दलसँग छलफलका लागि गठन भएको कार्यदलमा समेत आफ्नो प्रतिनिधि पठाएको छैन । सद्भावनाले गत पुष ११ गते बिराटनगरमा धर्नाका क्रममा प्रहरीसँगको झडपमा अध्यक्ष राजेन्द्र महतो घाईते भएको बिषयमा सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने बताउदै आएको छ ।