राजविराज । स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सप्तरीको ठेलिया गाविस ६ निवासी देवनारायण सदा वेवारिसे अवस्थामा छन् । उनलाई मानवीय सम्वेदनशील्ताका कारण अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पताल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सेवा प्रदान गरिरहेका छन् ।
सदालाई बेहोस अवस्थामा ३ दिन अघि रुपनी प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गराई दिएका थिए ।
बेडको अभावमा उनको भुईमै राखिएर उपचार भईरहेको छ ।
६० वर्षिय बिरामी सदाका आफन्तलाई पटक–पटक फोन गरेर जानकारँी गराउँदा पनि कुनै चासो नराखेको प्रहरी जवान रामशंकर यादवले बताए । चिन्ताजनक अवस्थामा रहेका सदालाई भ्ोट्न कोही आफन्त नआएपछि सदालाई रुगेर बसेका प्रहरी जवान यादवले नै अहिले उनको रेखदेख गर्दै आएका छन् । “मानवीयताका नाताले मैले क्षमताले भ्याएसम्म हेरचार गरिरहेको छु– उनले भने, “कोही आफन्त आई दिए सदालाई सहज हुने थियो । उनले जीवन र मरणको अवस्थामा पुगेका आफ्ना विरामीलाई भेट्नसम्म नआउने आफन्तहरु अहिले निर्दयी बनेको बताए ।
अस्पताल सुरक्षार्थ तथा घटनाहरुको रिपोर्टिङ गर्ने कार्य पाएका प्रहरी जवान यादव अहिले वेवारिसे विरामीको रेखदेख गर्ने फरक जिम्मेवारी पनि निर्वाह गरेर प्रशंसनीय कार्य गरिरहेको स्वास्थ्यकर्मीहरुले बताए ।