म्याग्दी, २३ पुस ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताले मात्रै नयाँ संविधानको कार्यान्वयन सम्भव रहेको बताउनुभएको छ ।
प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटमा उहाँले मुख्य दलहरुबीचको सहकार्यले मात्रै नयाँ संविधान जारी भएकाले संविधानको सहज कार्यान्वयनका लागि दलहरुबीच राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभयो ।
स्थानीय निकाय, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभालगायत निर्वाचन सम्पन्न गरेमा मात्रै मुलुकमा राजनीतिक पद्धति स्थापित हुने भएकाले पहिलो चरणको संविधानको कार्यान्वयनसम्म दलहरुबीचको सहकार्य र एकता आवश्यक हुने उहाँको भनाइ थियो ।
संविधान संशोधनको लागि व्यवस्थापिका–संसद्मा प्रस्ताव दर्ता भएको बताउँदै उहाँले मधेस केन्द्रित दलले उठाएका माग संवादबाटै सम्बोधन हुने बताउनुभयो । सरकारका कामकारबाही प्रभावकारी नभएपनि काँग्रेस सरकार गिराउने खेलमा नलागेको बताउँदै उहाँले भूकम्पपछि राहत र पुनर्निर्माणमा सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभयो ।
“चिसोबाट भूकम्पपीडितले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद हो, सहमतिमै पुनर्निर्माण प्राधिकरणको विधेयक पास भएको छ, पीडितलाई राहत पुग्ने गरी राहत र पुनर्निर्माणका कामलाई अगाडि बढाउनुपर्छ”– महामन्त्री सिटौलाले भन्नुभयो ।