काठमाडौँ, २१ पुस ।
व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले भुकम्पपछिको पुननिर्माणलाई तिब्रता दिन माग गरेका छन् ।
बैठकको सुरुमा बोल्दै नेपाली काँग्रेसका रामहरि खतिवडाले पुननिर्माणका लागी बैदेशीक क्षेत्रबाट आएको सहयोगको सहि सदुपयो गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले पूर्वअर्थमन्त्री रामशरण महत ‘फाइनान्स मिनिस्टर अफ द इयर’ घोषित हुनुभएकामा सदनले धन्यवाद प्रस्ताव पारित गर्नुपर्ने बताउनुभएको थियो ।
यस्तै ,सोही पार्टीका कमल पङ्गेनीले कालोबजारी र कृत्रिम अभावले जनता आहत छन् भन्दै भूकम्पपीडितका लागि न्यानो कपडाका लागि विनियोजित रकम वितरण हुन विलम्बको कारण माग गर्नुभयो ।
नेकपा (एमाले) का रवीन्द्र अधिकारीले उत्तर–दक्षिण राजमार्ग निर्माणको कामले खासै गति नलिएकामा चिन्ता व्यक्त गर्दै ती राजमार्ग निर्माणमा इमानदारीका साथ सरकार लाग्नुपर्ने औँल्याउनुभयो । “चीनसँगका महत्वपूर्ण नाका शीघ्र सञ्चालनमा सरकारको ध्यान जाओस्”– उहाँले भन्नुभयो ।
एकीकृत नेकपा (माओवादी)का छमबहादुर गुरुङले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनता राहत नपाएर आहत भएको बताउँदै ती स्थानको पुनःनिर्माण एवम् पुनःस्थापनामा राष्ट्रिय एवम् अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले सरकारलाई सहयोग नगरेको आरोप लगाउनुभयो ।
नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले नेपालको आन्तरिक मामिलामा भारतका सांसद्ले गैरजिम्मेवार ढङ्गले अभिव्यक्ति दिएकामा आपत्ति जनाउनुभयो ।
राष्ट्रिय जनमोर्चा नेपालकी मीना पुनले अघोषित नाकाबन्दी र भूकम्पका कारण नेपाली जनताले झेल्नुपरेको सङ्कटको अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
नेकपा (संयुक्त) का जयदेव जोशीले भूकम्पबाट आहत भएका नेपाली जनतामा अघोषित नाकाबन्दीले थप पीडा थपेको भन्दै मधेसका समस्या शीघ्रातिशीघ्र समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
संसद्ले ‘राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१’ पारित गरेको छ ।
त्यसैगरी ‘मेलमिलापसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७१ लाई पनि पारित भएको छ ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस २२ गते बिहान १० बजे बस्नेछ ।