काठमाडौ, १६ पुस ।
नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भारतको नाकाबन्दीले जनताको चुलो बल्न छाडेको तीन महिना भइसक्दा पनि सरकार समस्या समाधानतर्फ गम्भीर नभएकोे बताउनुभएको छ ।
पार्टी निकट दलित मुक्ति मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको ‘एकीकृत जनक्रान्ति र दलित मुक्ति आन्दोलन’ विषयको अन्तक्र्रियामा पार्टी स्थायी समिति सदस्य विश्वकर्माले कालोबजारीलाई समयमा नियन्त्रण गर्न नसकेमा राज्य असफल हुने औँल्याउनुभयो ।
प्रकाण्डले ओली नेतृत्वको सरकार कुम्भकर्णको संज्ञा समेत दिनुभयो । उहाले भन्नुभयो , भुकम्प पिडितहरु चिसोले कठ्याङगिएर मरीरहेका बेला ,३ महिनादेखी जारी आन्दोलन र नाकाबन्दीले जनताले चरम अभाब खेपिरहेका बेला सरकार मुखदर्शक बनेर रमिता हेरिरहेको छ ।
प्रकाण्डले नाकाबन्दीका कारण देशमा राष्ट्रिय उद्योगि ब्यबसायी धरासायी भइरहेका बेला राज्यको पुजिलाई प्रयोग गरी दलालहरु रातरात करोडपति भएको बताउनु भयो ।
असोज ३ गते जारी भएको संबिधान भन्दा पनि २०६३ सालमा जारी गरीएको अन्तरीम संबिधानले नै गरीब,उत्पीडित र उत्पीडनमा परेका बर्गहरुको अधिकार सुरक्षीत गरेको प्रबक्ता प्रकाण्डको भनाई छ ।
दलितका अधिकार स्थापित गर्न दलित आन्दोलनलाई राजनितिक आन्दोलन बनाउन आवश्यक रहेकोमा उहाले जोड दिनुभएको छ ।
कार्यक्रममा एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलालले सामन्तवादको केही अवशेष अझै बाँकी रहेकाले दलितले पूर्ण रुपमा अधिकार नपाएको विचार व्यक्त गर्दै नेपाल पुँजीवादी युगमा प्रवेश गरिसकेकाले दलित मुक्ति आन्दोलनलाई पनि त्यहीस्तरमा उठाउनुपर्नेमा जोड दिनुभयो ।
देशभक्त सङ्घीय जनवादी मोर्चाका अध्यक्षले तिलक परियारले वर्गीय मुक्तिले मात्र दलितको मुक्ति हुने बताउनुभयो ।