काठमाडौँ, १६ पुस ।
नेपाली काँग्रेसका शिर्ष नेताहरु आसन्न १३औँ महाधिवेशनमा पद सुरक्षित गर्न आआफ्नो पक्षमा लविङ गर्दै देशव्यापी दौडाहामा लागेका छन् ।
महाधिवेशनको तयारीका लागि यसअघि विभिन्न जिल्लामा पुगेर कार्यकर्ताहरुसँग छलफल गरेका काँग्रेस नेताहरु पुस १६ गतेको मेलमिलाप दिवस पारेर काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
सभापति सुशील कोइराला काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको कार्यालय भवन उद्घाटनका आज स्याङ्जा जादै हुनुहुन्छ । हिजो नै पोखरा पुग्नुभएको सभापति कोईराला आज स्याजा जान ला्रग्नु भएको हो ।
वरिष्ठ नेता शेरबहादुर देउवा पनि आजै नेपाल महिला सङ्घको कोसी अञ्चलस्तरीय भेलाको उद्घाटन गर्न विराटनगर जानुहुने कार्यक्रम छ ।
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको पश्चिमाञ्चल क्षेत्रीय भेलाको उद्घाटन गन पुस १० गतेदेखि नै पोखरा जानुभएका उपसभापति रामचन्द्र पौडेल अझै केही दिन बाँकी जिल्लाको भ्रमण सकेरमात्र काठमाडौँ फर्कने बताईएको छ ।
काँग्रेसका शीर्ष नेता कोइराला, देउवा र पौडेलले औपचारिक रुपमा घोषणा नगरे पनि तिनै नेताले आशन्न १३औँ महाधिवेशनमा सभातिमा उम्मेदवारी दिने पक्कापक्की छ । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ ।
मेलमिलाप दिवसका अवसरमा काँग्रेसका संस्थापक स्व नेताद्वय बिपी कोइराला र गणेशमान सिंहको अर्धकद शालिकको अनावरण गर्न चितवन पुग्नुभएका महामन्त्री प्रकाशमानसिंह भने आज काठमाडाँै फर्कने कार्यक्रम छ ।
अर्का महामन्त्री कृष्णप्रसाद सिटौला एक सातादेखि उपत्यका बाहिर हुनुहुन्छ । उहाँ बुटवल, नवलपरासी, दाङ, हँुदै सुदूरपश्चिमसम्म पुग्ने कार्यक्रम रहेको उहाँका सहयोगीले बताउनुभयो ।
पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का करिब एक सातादेखि मेची अञ्चलको भ्रमणपछि पश्चिमाञ्चल क्षेत्रसम्म पुगेर काठमाडौँ फर्कनुभएको छ ।
त्यस्तै सुदूपश्चिमाञ्चल क्षेत्रको भ्रमण सकेर हालै काठमाडौँ फर्कनुभएकी पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेत्री सुजाता कोइरालाले आज देखि मध्यपश्चिमाञ्चल क्षेत्रको भ्रमण गर्ने बताउनुभएको छ ।
नेता अर्जुननरसिंह केसी आजै भैरहवा हँुदै बुटवल पुग्ने कार्यक्रम रहेको छ । आगामी महाधिवेशनमा पदाधिकारीका आकाङ्क्षी मानिने नेताहरु रामशरण महत, विमलेन्द्र निधि, बालकृष्ण खाँणलगायतले पनि महाधिवेशनमा आफ्नो स्थान पक्का गराउन जोड घटाउ सुरु गरिसकेका छन् ।
आगामी महाधिवेशनका लागि गाउँ, नगर, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका छ । गाउँ नगरस्तरका अधिवेशनका लागि जिल्लामा निर्वाचनको माहोल सुरु भइसकेको छ ।