काठमाडौँ, १३ पुस ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रमा जनताको अपनत्व अनुभव हुनेगरी जनसहभागितामा पुनःनिर्माण कार्य सुरु गर्ने बताउनुभएको छ ।
शुक्रबार नियुुक्त हुनुभएका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आज सिंहदरबारमा पदबहाली गर्दै भूकम्पपीडित जनतालाई आवास निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सरोकारवाला सबै मन्त्रालय र निकायसँग समन्वय गरी अघि बढ्ने बताउँदै उहाँले पुनःनिर्माणको कार्यमा आवश्यक पर्ने योजना बनाउँदै अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।
पाल्पा निवासी र यसअघि नगर विकास कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालीसक्नुभएका ज्ञवालीलाई शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको थियो ।