काठमाण्डौ,९ पौष ।
प्रधानमन्त्री केपी ओलीले साना दलहरुलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । साना दलका तर्फबाट आज चार जना मन्त्री थपेपछि ओली नेतृत्वको बर्तमान मन्त्रीमण्डल ३४ सदस्यीय भएको छ ।
आज मन्त्री बन्नेमा राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह हुनुहुन्छ ।
बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खोनपानी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । ढकालको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ । शीतल निवासमा आज साँझ राष्ट्रपति विद्या भण्डारीले मन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको छ ।
यसैबिच एमालेबाट चार राज्यमन्त्रीलाई समेत सपथ गराउने प्रधानमन्त्री ओलीको तयारी भने अन्तिम समयमा रोकिएको छ । राज्यमन्त्रीका लागि एमालेबाट दामोदर भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र यादव र गोपालबहादुर महतको नाम तय भएको थियो । रोकिएको सपथ भोली हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
सत्ता समर्थित दललाई मन्त्रालयको भाग र्पुयाउनका लागि सरकारले सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाई तथा खानेपानी, स्वास्थ्य तथा जनसंख्या र बिज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलाई टुक्राएर जनसंख्या तथा वातावरण मन्त्रालय बनाएको छ ।