काठमाडौं,६ पुस ।
सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्त १० करोड रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
बयान नसकिएका कारण अख्तियारकै हिरासतमा बस्नुपर्ने भएपछि धरौटीमा छुट्न चाहेका वन्तलाई अख्तियारले १० करोड रुपैयाँ मागेपछि वन्तले बैक ग्यारेण्टी बुझाउनु भएको हो ।
धरौटी बुझाएपछि उहाँ तारेखमा छुट्नुभएको र अनुसन्धान चलिरहने अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिनुभयो । वन्तले चाहिएको धरौटी बुझाउने भनेपछि अख्तियारले १० करोड रुपैयाँ धरौटी मागेको थियो ।
वन्तले दुई घण्टाभित्र उक्त रकम जुटाएको अख्तियार स्रोतले जनाएको छ । वन्तको धरौटी रकमका लागि सिटिजन्स बैंक ग्यारेन्टी बसेको छ ।
सशस्त्र प्रहरीका विभिन्न युनिटमा सामान ढुवानी गर्दा नक्कली कम्पनी खडा गरि करोडौं रुपैयाँ हिनामिना गरेको भेटिएपछि अख्तियारले वन्तलाई निलम्बन गर्न सरकारलई सिफारिस गरेको थियो ।
अख्तियारको सिफारिस पछि सरकारले वन्तलाई निलम्बन गरेर दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको कायममुकायम महानिरीक्षक नियुक्त गरेको थियो ।