काठमाडौँ, ३ पुस ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आसन्न १३औँ महाधिवेशनको तयारीका सम्बन्धमा छलफल जारी छ । बैठक काँग्रेस क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका विवादलाई कसरी सुल्झाउने भन्नेमा केन्द्रित रहेको छ ।
आजको बैठकमा पनि बोल्ने अधिकांश सदस्यले क्रियाशील सदस्यता वितरणको पारदर्शिता, मापदण्डका विषयमा प्रश्न उठाउँदै पुनरवलोकन गरिनुपर्ने धारणा राखेका छन् भने केही सदस्यले त्यसको बचाउ गरेका छन् ।
बुधबारदेखि पार्टीको जारी बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि भएको छलफलमा नेताबीच बहस चलिरहेको छ ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले जारी बैठकमा केहीले छानबिन प्रतिवेदनलाई जस्ताको तस्तै पारित गर्नुपर्ने धारणा राखेका र अधिकांशले प्रतिवेदनमा देखिएका कमजोरीलाई सच्याएर जानुपर्ने माग गरेको बताउनुभयो ।
पार्टीको विधानअनुसार क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा त्यसो नभई आफू अनुकूल पार्टीको विधान संरचनाभन्दा बाहिर गएर सदस्यता बढाएको नेताहरुको आरोप छ ।
काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले जारी केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता वितरणमाथिको छलफल जारी रहेकाले बैठक आइतबार बिहान ११ बजे पुनःबस्ने गरी स्थगन भएको जानकारी दिनुभयो ।
बैठकमा पेस भएको प्रतिवेदनानुसार काँग्रेसमा पुराना तीन लाख १६ हजार ८६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएका छन् । त्यस्तै पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छन् ।