काठमाण्डौ,३ पौष ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि मधेशी मोर्चासँगको वार्ता निष्कर्षमा नपुगे सरकार बाध्य भएर कानुनी कारवाहीमा उत्रिने बताउनु भएको छ ।
कैलालीको अत्तरियामा आयोजित एमालेको वृहत जनसभालाई सम्बोधन गर्दै प्रम ओलीले मधेशी मोर्चासँग वार्ता चलिरहेको र अब पनि समाधानमा नआए बाध्य भएर सरकार कानुनी कारवाहीमा उत्रिने चेतावनी दिनुभयो।
उहाले कैलालीको टीकापुरलाई रुवाण्डा बनाउने केही मधेसवादी नेताहरुको प्रयासलाई स्थानीय जनताले असफल पारेको बताउनु भयो । टीकापुरमा जातीय नरसंहार मच्चाउने केही बाहिरी तत्वको प्रयास जनताले विफल बनाएकोे उहाको दाबी छ ।
ओलीले मधेसी मोर्चाको आन्दोलन तराई मधेसका गरीब जनतालाई थप शोषण गर्ने उद्देश्यबाट प्रेरित रहेको आरोप समेत लगाउनुभयो । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जनता अब कसैको भ्रममा नपर्ने बताउँदै नेपाली जनता आफूले आफ्ना लागि बनाएको संविधान अरुले मान्दिन भन्दैमा केही नहुने प्रष्ट पार्नुभयो ।
यस्तै जनसभामा सांसद कृपाराम राना थारु, पूर्व सांसद नारादमुनी राना थारु, कैलालीका एमाले नेता हनुमान चौधरी लगायतले संविधानमा थारु मधेसी सबैको अधिकार सुनिश्चित भएकाले आन्दोलन औचित्यहीन रहेको बताएका थिए ।