काठमाण्डौ,१ पौष ।
राष्ट्रपति विद्यादेवी भण्डारीले युगौँयुगदेखि चलिरहेको ऐतिहासिक तथा धार्मिक महत्वको विवाह पञ्चमी महोत्सव नेपाल र भारत दुई देशको मित्रताको प्रतिकको रुपमा रहेको बताउनुभएको छ ।
आज जानकी मन्दिरमा पूजापश्चात् उपस्थित साधुसन्तलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यता र सँस्कृतिको एक पक्षको रुपमा रहेको यो विवाह पञ्चमी महोत्सवलाई जीवन्तता दिनुपर्नेमा जोड दिनुभयो ।
जनकनन्दिनी सीताको विवाह अयोध्याका नरेश दशरथका पुत्र रामसँग भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक विवाहपञ्चमी महोत्सवमा सहभागी हँुदा आपूm गौरवान्वित भएको बताउनुभयो । हाम्रो सभ्यता र सँस्कृतिको संरक्षण गरी जीवन्तता दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले अर्कोबर्ष फेरि आउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत जनकपुर पुग्नुभएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा १५ मिनेट पुजा गर्नुभएको थियो । राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पूजाअर्चना गरी अपरान्न राजधानी फर्किनु भएको छ ।
राष्ट्रपति भण्डारी जनकपुर पुगेपछि बिहानैदेखि जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन गरेपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
राष्ट्रपति भण्डारी मन्दिर परिसरबाट निस्कन लाग्दा मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा समेत गरेका थिए । जनकपुरको जानकी मन्दिर, शिव चोक, जनक चोक, भानुचोकसहितका विभिन्न ठाउँमा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास पनि प्रहार गरेको थियो ।
त्यसैबिच राष्ट्रपति फिर्ता भएपछि जानकी मन्दिरमा समेत प्रदर्शनकारीले गरेको विरोध रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले पेट्रोल बम समेत प्रहार गरेका छन । राष्ट्रपतिको भ्रमणको विरोध गरिरहेको समूहले हानेको पेट्रोल बमले प्रांगणमा बनाइएको मञ्च र पन्डालमा आगो लागेको छ ।