काठमाडौँ, २८ मङ्सिर ।
राजधानीमा आजदेखी दक्षिण एसियाली क्षेत्रीय परामर्श गोष्ठी सुरु भएको छ । सन् २०१६ को अप्रिलमा इन्डोनेसियाको जाकर्तामा हुने एसिया प्रशान्त क्षेत्रका १०औँ मन्त्रीस्तरीय सम्मेलनको मुख्य आधार तयार गर्ने उद्देश्यले गोष्ठी सुरु भएको हो ।
राष्ट्रिय सहकारी संघले आयोजना गरेको गोष्ठीले प्रशान्त क्षेत्रको सहकारी विकासका लागि आवश्यक पर्ने प्रतिबद्धताको मुख्य विषय तयार गरी सम्बन्धित सरकार र संयुक्त राष्ट्रसंघीय संस्थालाई यस क्षेत्रका लागि आवश्यक रणनीति बनाउन सहयोग पुग्ने आधार तयार गर्नेछ ।
गोष्ठीको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले गोष्ठीले प्रशान्त क्षेत्रका मन्त्रिस्तरीय सम्मेलन लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री केसीले दिगो विकासका लागि सक्षम सहकारी संस्था बनाउने पद्धतिको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सहकारीको मर्म र भावनाअनुसार आगाडि बढाउने स्पष्ट आधार तयार गरिने बताउनुभयो ।
यस्तै मुख्यसचिव डा सोमलाल सुवेदीले राजनीतिक स्थायित्व नभएका कारण देशको आर्थिक अवस्थामा सुधार आउन नसकेको भन्दै आगामी दिनमा सहकारीको माध्यमबाट आर्थिक विकास गर्न सकिने बताउनु भयो ।
सार्कका महासचिव अर्जुनबहादुर थापाले दिगो विकासका लागि सहकारी नै मुख्य आधार भएको उल्लेख गर्दैै सार्क क्षेत्रको गरिबी कम गर्न सहकारीलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
भोलीसम्म चल्ने गोष्ठीमा नेपाल, बङ्गलादेश, भुटान, भारत, मालदिभ्स र श्रीलङ्काका प्रनिधिसहित ६० जनाको सहभागिता रहेको छ ।