चिसोले भूकम्पपीडितको दिनचर्या पीडादायी बन्दै

चिसोले भूकम्पपीडितको दिनचर्या पीडादायी बन्दै

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,२७ मंसिर ।

सिन्धुपाल्चोकको चौतारा नपा ९ का ८६ वर्षीय रणबहादुर भुजेललाई यस वर्षको जाडो कटाउन हम्मेहम्मे परिरहेको छ ।

वरिपरि खुला रहेको जस्ताको टहरामा एउटा गुन्द्री र पातलो ओढ्नेको भरमा रात गुजार्नु पर्दा चिसोले यस वर्षको हिउँद कटाउन हम्मे परेको हो । हुप्प फुलेको मुहार, आँखाभरि कचेरा, कान कम सुन्ने र पक्षघातका रोगी एकल पुरुष भुजेललाई सरकारले न्यानो कपडा किन्न दश हजार दिने कुरा समेत थाहा नभएको बताउँछन् ।

“यो वर्षको जाडो कटाउन ज्यादै मुस्किल पर्ने भो, बाँचिन्न कि क्या रु” उनी मसिनो आवाजमा प्रश्न गर्छन् – “भुइँचालोले यस्तो हबिगत गरायो ।” गाउँमा विभिन्न संस्थाले दिएको मण्डी समेत आफूहरुले नपाएको उनको परिवारले गुनासो गरेका छन् । मगुवा गाउँका ८३ वर्षीय कालु गुरुङको पनि उनकै जस्तो हबिगत रहेको छ । कान नसुन्ने गुरुङ त्रिपालको भरमा रात गुजार्न विवश छन् ।
पच्चीस वर्षको उमेरमा श्रीमान् गुमाएकी ठुलोसिरुवारी ४ पाँचमुरेकी ५१ वर्षीया चिनीमाया तामाङको कष्ट भनिसाध्य छैन । जस्ताको टहरामा चारैतिर चिसो र भुइँ झनै चिसो भएपछि रात कटाउन ज्यादै कठिन भएको बताउँछिन् । छोराबुहारी र नातिनातिना सहित ५ जनाको परिवारसँगै बस्दै आएकी तामाङ गुनासो गर्छिन् – “सरकारले घर बनाउन दिने भनेको रकम कहिले दिने हो पत्तो छैन । न्यानो कपडा किन्न दिने भनेको दश हजार पनि जाडो सकिएपछि मात्र दिने हो कि रु” यिनीहरु मात्र नभई जिल्लाका करिब ८० हजार परिवारको यस्तै व्यथा र पीडा रहेका छन् ।

वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पले प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोकमा बढी धनजनको क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार जिल्लामा ३ हजार ५६६ जनाको मृत्यु भएको छ । यसमा पुरुष एक हजार ५६, महिला एक हजार ५५५, बालक ४४३ र बालिका ५१२ छन् । त्यस्तै एक हजार ५६९ जना घाइते भएका छन् ।

यसैबीच, नेपाल सरकारले न्यानो कपडा किन्न दश हजारका दरले दिने भनिएको ७० करोड बजेट निकासा भएको छ । उक्त रकम भूकम्पपीडितलाई वितरण गर्न सोमबारदेखि गाविसमा निकासा पठाइने सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिनुभयो । पछिल्लो जनगणनाअनुसार जिल्लामा ६६ हजार ३ सय घरधुरी रहेका छन् । भूकम्पपीडित परिचयपत्र बनाउने ८४ हजारलाई रु १५ हजार राहत वितरण गरिएको सन्दर्भमा अहिले झन्डै रु १४ करोड घटी निकासा आएको छ । रकम कम आएकाले वितरण गर्न समस्या भएको सप्रजिअ आचार्यले भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ