काठमडौ २७ मंसिर । आन्दोलनरत मधेसी मोर्चाले राखेका माग सम्बोधनका विषयमा मुख्य तीन दल र आन्दोलनरत मधेशी मोर्चाबीच आज पनि वार्ता हुदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा दिउँसो एक बजे सिंहदरबारमा वार्ताको तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । वार्तामा मोर्चा र कांग्रेसका शीर्ष नेताहरुको उपस्थिति रहने जनाएको छ ।
सरकार र मधेसी मोर्चाबीच पटकपटक वार्ता हुँदै आए पनि अहिलेसम्मका सबै वार्ता निश्कर्ष बिहिन बन्दै आएका छन् । भारत भ्रमणपछि मधेसी मोर्चाका नेताहरु वार्ताबाट समाधान खोज्न केही लचिलो देखिए पनि निर्णायक वार्ता भने हुन सकेको छैन ।
आजको वार्तालाई निर्णायक बनाउन प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरु आन्तरिक, दुईपक्षीय र बहुपक्षीय वार्तामा बिहानदेखि नै व्यस्त छन् ।
दिउँसोको वार्ता सकारात्मक भएमा संसद्को आजको बैठकमा संविधान संशोधन विधेयक पेस गर्ने तयारी सरकारले गरेको छ । भारत सरकारको निमन्त्रणामा दिल्ली पुगेका मधेसी मोर्चाका नेताहरु फर्केपछि मोर्चासँग छलफलले गति लिएको हो ।
प्रमुख तीन दलले तीन बुँदे प्रस्ताव पारित गरेर निर्णायक वार्ताका लागि तयारी गरिरहेका बेला मधेसी मोर्चाका नेताहरु गत मंसिर २० गते अचानक दिल्ली गएका थिए ।