काठमाडौ २६ मंसिर ।
मध्यतराईका जिल्लाहरुमा शीतलहर सुरु भएपछि त्यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहा लगायतका जिल्लामा बाक्लो हुस्सु लागेर शीतलहर सुरु भएसँगै चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।
शीतलहरका कारण बालबालिका , वृद्धवृद्धा र अशक्त सबैभन्दा बढी प्रभावित भएका छन् । मधेशी मोर्चाको आन्दोलनका कारण बिहानको समयमा पढाइ सुरु भएपछि स–साना विद्यार्थी चिसोमा विद्यालय जान बाध्य भएका छन् ।
चिसो बढेपछि तराईका बजार क्षेत्रमा मानिसको चहल पहल पनि कम भएको छ भने ज्याला मजदुरी गरेर गुजारा चलाउनेलाई काम गर्न गाह्रो भएको छ । हिजो रातिदेखि नै निरन्तर शीतलहर चलिरहेकाले अतयाधिक चिसो चिसो बढेको छ । स्थानीय बासिन्दा घरघरमा धुनी बालेर आगो तापिरहेका छन् ।
यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले चिसोबाट ज्यानै समेत जाने भएकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ ।