काठमाण्डौ,२५ मंसिर ।
सरकार र मधेशी मोर्चाबिच आज भएको बार्ता पनि निष्कर्ष बिहिन भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा मधेसी मोर्चाले पुनर्निर्माण विधेयक मात्रै बढाउन आग्रह गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।
बार्तामा सरकारले सिमांकन थाती राखेर अघि बढ्न प्रस्ताब गरेको थियो । मोर्चाले भने उक्त प्रस्ताव अस्वीकार गरेको छ । वार्तापछि संचारकर्मीसंग कुरा गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सीमांकन थाती राखेर अघि बढ्न प्रस्ताव गरेको र त्यो आफूहरुलाई मान्य नभएको बताउनुभयो ।
उहाँले राज्य पुनसंरचना आयोगको प्रतिवेदन अनुसार सीमांकन परिमार्जन नभएसम्म कुरा नमिल्ने सरकारलाई बताएको जानकारी दिनुभयो । मानवीय संवेदनालाई मध्यनजर गर्दै आफूहरुले संसद्को बैठकमा पुनर्निर्माण प्राधिकरण विधेयक अघि बढाउन दिने निर्णय गरेपनि कांग्रेसले यसलाई आफूहरुको कमजोरीको रुपमा लिएको आरोप यादवले लगाउनुभयो ।
आजको बार्तामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र एकिकृत नेकपा माओवादी भने सहभागी भएनन ।