भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गरौँ : प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गरौँ : प्रधानमन्त्री

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गर्नुपर्ने समय आएको बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

“भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो व्यवहारमा सुधार ल्याउनुपर्छ, दिउँसो घन्टी झुन्ड्याउने र राति मुसा खाने बिरालाको प्रवृत्ति अन्त्य नभएसम्म भ्रष्टाचार कम गर्न गाह्रो हुन्छ, मुखले भ्रष्टाचार नियन्त्रणको कुरा गरे पनि व्यवहारमा उतार्न नसक्दा कम हुन सकेको छैन, अब कम गर्ने सङ्कल्प गरौँ”– उहाँले भन्नुभयो ।

उहाँले नेपालमा भ्रष्टाचारविरुद्धको चेत पृथ्वीनारायण शाहको पालादेखि नै आए पनि अझै कम हुन नसकेकाले जसरी पैसा कमाए पनि पैसा हुनेलाई मान सम्मान गर्ने सामाजिक परम्परा तोड्नुपर्छ भन्नुभयो ।

भ्रष्टाचारलाई अन्त्यका लागि सामाजिक जागरण ल्याउनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

भ्रष्टाचार नियन्त्रणका संस्था राजनीतिक अस्त्रका रुपमा प्रयोग हुन नहुने र कानुनी व्यवस्थालाई सहीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने उहाँले बताउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले नीतिगत, कानुनी र संरचना भए पनि कार्यान्वयनमा समस्या भएकाले भ्रष्टाचार कम हुन नसकेको बताउनुभयो ।

“सरकारका वार्षिक दस्तावेजमा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ राखिएको छ, संविधानसभाबाट जारी भएको संविधानमा पनि सुशासन प्रवद्र्धनलाई उच्च प्राथमिकता दिइएकाले अब कार्यान्वयनमा जोड दिइनुपर्छ”–उहाँले भन्नुभयो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले भ्रष्टाचार विरुद्धको महासन्धिको व्यवस्था लागू गराउनका लागि कार्ययोजना बनाएर अघि बढ्न लागिएको जानकारी गराउनुभयो ।

निमित्त महालेखा परीक्षक सुकदेव खत्रीले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिको आचरण शुद्धीकरण गरिनुपर्ने धारणा राख्नु भयो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष भरतबहादुर थापाले नेपालमा भ्रष्टाचारले सबै क्षेत्रमा प्रभाव पारेकाले यसको न्यूनीकरणका लागि भएका व्यवस्था कार्यान्वनयन गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्र सङ्घले सन् २००३ देखि यो दिवस मनाउन सुरु गरेको हो । दिवसमा यस वर्षको नारा ‘भ्रष्टाचारको जालो तोडौँ’ रहेको छ ।

नेपालमा यो दिवस विसं २०६४ देखि मनाउन थालिएको सो अवसरमा जानकारी गराइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ