काठमाण्डौ,२३ मंसिर ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तराईका संचार माध्यमले सद्भाव खल्बलिने गरी समाचार सम्प्रेषण गरेकै कारण तराई आन्दोलन अनावश्यक उचालिएको बताउनु भएको छ ।
एमाले केन्द्रीय प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले तराईमा सञ्चालित एफएम रेडियोहरुले आन्दोलनलाई उत्तेजित पार्नेगरी समाचार सम्प्रेषण गर्ने, गीत बजाउने र शान्ति सद्भाव भड्कने गरी गतिविधि सञ्चालन गरेको आरोप लगाउनुभयो ।
पुर्बप्रधानमन्त्री समेत रहनु भएका नेपालले सन्तुलित सामग्री दिने कुरामा सबै मिडिया लाग्नुपर्ने भन्दै यसतर्फ ध्यान दिन संचारकर्मीलाई आग्रह गर्नुभयो ।
तराईको आन्दोलन उच्छृङ्खल, अराजक र उदण्ड भएको भन्दै यसलाई रोक्न सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । जनताको भावना र औचित्यलाई सम्मान गर्नुपर्ने भन्दै उहाँले धम्कीको भाषा कसैको पनि स्वीकार्य नहुने बताउनुभयो ।