काठमाण्डौ,२२ मंसिर ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेला संविधानबारे तीन महिने बिशेष अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । चितवनको सौराहामा भएको दुई दिने भेलाले १६ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।
तराई मधेश क्षेत्रमा संगठन विस्तार गर्दै संविधानमा देखिएको भ्रम हटाउन एमालले तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । एमालेले सो अभियानका लागि ’संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको राष्ट्रिय एकता सुदृढिकरण र सम्बृद्धि’ भन्ने नारा समेत तय गरेको छ ।
संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् शान्त, लोकतान्त्रिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने जनचाहाना पूरा गर्न एकताबद्ध भएर अगाडि बढ्न भेलाले सम्बद्ध सबैमा आग्रह समेत गरेको छ ।
चार महिना देखि जारी तराई मधेश आन्दोलन प्रति दुख प्रकट गर्दै एमालेले आन्दोलनका क्रममा एम्बुलेन्स र पार्टी कार्यालयमा तोडफोड हुनु अराजक भएको निश्कर्ष निकालेको छ । भेलाले आन्दोलनका क्रममा मृत्यु भएका, घाईते भएका तथा भौतिक क्षति ब्यहारेका सवैलाई उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।