जनतातर्फ फर्कने कार्ययोजना ल्याउन एमाओवादी नेताको जोड

जनतातर्फ फर्कने कार्ययोजना ल्याउन एमाओवादी नेताको जोड

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २२ मङ्सिर ।

एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा जनतातर्फ फर्कने कार्ययोजना तत्काल ल्याउन केन्द्रीय सदस्यहरुले माग गर्नुभयो ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज जारी बैठकमा पार्टी शान्ति प्रक्रियामा आएदेखि नै जनताको भावनालाई र चाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न आग्रह गर्नुभएको हो ।

पार्टीको आधार भुल्ने, जनताको एजेन्डाबाट कट्ने, सुख–दुःखमा साथ नदिने प्रवृत्तिले पार्टी, क्रान्ति र नेतृत्वको समेत हित नगर्ने भएकाले तत्काल पार्टीभित्र सुधारको आवश्यकता भएको नेताहरुले धारणा राख्नुभएको थियो ।

मुलुकको राष्ट्रिय अस्मिता सङ्कटमा परेको, सार्वभौमसत्तामाथि लगातार आक्रमण हुँदासमेत पार्टीले प्रस्ट अडान लिन नसकेको, समग्र अवस्थाका बारेमा ध्यान दिन नसकेको भन्दै आज बोल्ने केही नेताहरुले भने पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

विभिन्न टुक्रामा विभक्त माओवाद मान्ने पार्टी र दलबीच एकता प्रक्रिया सुरु गर्न र त्यसका लागि आवश्यक लचकता अपनाउन समेत उहाँहरुले जोड दिनुभएको थियो ।

संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयन गराउनु पार्टीको प्रमुख दायित्व भएपनि पार्टीले राख्दै आएको फरक मतलाई पनि सँगसँगै जनतामा लैजान पनि केन्द्रीय सदस्यहरुले पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनु भएको थियो ।

यस्तै, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा अडान राखेकै आधारमा पार्टीलाई नै सिध्याउने ढङ्गले महासचिव कृष्णबहादुर महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेकोमा आपत्ति प्रकट गरिएको थियो ।

बैठकमा आयोगले जानी बुझीकन पत्र काटेको भन्दै लामो समय भइसक्दासमेत पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेताहरुले किन त्यस्तो भएको हो, सो बारेमा प्रस्ट पार्न आग्रह गर्नुभएको थियो ।

आजको बैठकमा प्रवक्ता दीनानाथ शर्मा, विश्वनाथ साह, हितबहादुर तामाङ, विषमलाल अधिकारी, प्रकाश पोखरेल, कमला रोका, दृवराज रेग्मी, समिता कार्की, विमला सुवेदी, चित्रबहादुर श्रेष्ठ, श्रीप्रसाद जगेवु र वसन्तकुमार शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नुभएको पार्टी कार्यालयका मुख्य सचिव हितराज पाण्डेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ