काठमाण्डौ , २१ मङ्सिर ।
नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि चितवनको सौराहामा सुरु हुदै छ ।
तराईमा भइरहेको आन्दोलन र वर्तमान समसामयिक विषयमा पार्टीको धारणा तय गर्न एमालेले भेलाको आयोजना गरेको हो ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे भेलाको उद्घाटन गर्ने कार्यक्रम छ ।
भेलामा सहभागी हुन केन्द्रीय नेता र सहभागी चितवन पुगीसकेका छन् । पार्टीका नेता माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत केन्द्रीय नेताहरु हिजो नै चितवन पुग्नु भएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले बताउनु भयो । अध्यक्ष ओली सहित केहि नेताहरु आज चितवन जाने जनाईएको छ ।
भेलामा पार्टीका केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटीका सदस्यसहित तराईका २२ जिल्लाका अध्यक्ष, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका सम्वन्धित क्षेत्रका पदाधिकारी सहित दुई सय ३५ जनाको सहभागिता रहने छ ।
दुईदिने भेलाले हाल तराईमा देखिएको राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएका समस्या, सङ्घीयताको विवाद लगायत विषयमा छलफल गरी ठोस धारणा बनाउने छ ।
भेलापछि सौराहा घोषणापत्र जारी गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने जनाइएको छ ।