काठमाडौँ, ७ मंसिर ।
नेपालमा देखिएको औषधि अभावमा थाइल्याण्डले सहयोगस्वरुप औषधि प्रदान गरेको छ ।
आज थाइल्याण्डबाट धर्मगुरु मार्फत २० पेटी औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बुझ्नुभएको छ । उहाँले थाइल्याण्डले नेपालमा देखिएको औषधि अभावमा सहयोग गर्ने थप औषधि केही दिनपछि थाइल्याण्डबाट आउने जानकारी पनि दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले अभाव भएका औषधिको सूचि थाइल्याण्ड सरकारलाई पठाएपछि बाँकी औषधि आउनेछ । भारतले अघोषित रुपमा गरेको नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण नेपालमा औषधि र औषधिजन्य सामग्रीको अभाव भएको छ । अस्पतालमा भइरहेको औषधि अभावका कारण बिरामीलाई असर नपरोस् भनी मन्त्रालयले टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ ।
नेपालमा उत्पन्न समस्यालाई विभिन्न देश र दातृ निकायले औषधि र औषधिजन्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।