खोटाङ, २१ कात्तिक ।
पहिचान हुन नसकेको किराले खोटाङमा पाक्न लागेको कोदो नष्ट गरेको छ ।
हरियो, कफी र हल्का रातो रङको किराले सयौँ हेक्टरमा लगाइएका कोदो नष्ट गरेको हो ।
दुई हप्ताअघिदेखि देखापरेको किराको प्रकोपले बोपुङ, डम्वर्खुशिवालय, काहुले, बाँझेच्यानडाँडा, नेर्पा, दोर्पा, दिक्तेल, खार्मी, जालपा, हौंचुरलगायत गाविसमा लगाइएको कोदो नष्ट गरेको किसानले बताएका छन् ।
कोदोको प्रत्येक बालामा तीन÷चार वटासम्म किरा भेटिने गरेको किसानको भनाइ छ । पाक्न लागेको कोदोको बालाभित्र बसेर फल खाइसक्ने र पुनः अन्य बालामा सर्दै कोदो नाश गर्ने गरेको बोपुङस्थित सिंहदेवी कृषि समूहका सचिव राजकुमार बस्नेतले बताउनुभयो ।
कोदोमा महामारीका रुपमा फैलिएको किरा ‘हेलिकोभर्पा’ भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो । जिल्लामा वार्षिक २५ हजार मेट्रिकटनको हाराहारीमा कोदो उत्पादन हुने गरेको छ ।
यसअघि कहिल्यै नदेखिएको किराले अघौ र पछौँ कोदोको रित्तो बोटमात्र बाँकी राखेको बाँझेच्यानडाँडा–८ का मेवान राईले बताउनुभयो । जिल्लामा प्रमुख खाद्यबालीका रुपमा लगाइने कोदो ढिँडो, रोटी बाहेक जाँड र रक्सी बनाउनसमेत अधिक प्रयोग हुन्छ ।