मुस्ताङ, २१ कार्तिक ।
मुस्ताङको जोमसोम–४ ठिनी गाउँमा हिउँ चितुवाको आक्रमणबाट एकै गोठका १० भेडाच्याङग्रा मरेका छन् ।
गाउँका बीचमा रहेको गोठमा राति करिब २ः०० बजे आएको हिउँचितुवाले दुई च्याङ्ग्रा पनि लगेको स्थानीयवासीले जानकारी दिएका छन् ।
ठिनीका अगुवा भेडाबाख्रा पालक किसान आइतबहादुर थकालीले पालेका भेडाबाख्रा बाघले मारेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
उनीहरुले नजिकै जङ्गलबाट आएको हिउँ चितुवाले मानिसमाथि समेत आक्रमण गर्ने सम्भावना बढेको जनाई तत्काल त्यसलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् ।
स्थानीयवासीले हिउँ चितुवालाई मार्न खोजे पनि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने भएकाले एक्यापको अनुमति लिनुपर्ने बताइएको छ ।
तीन वर्षदेखि एक्यापले जिल्लाभर हिउँ चितुवा संरक्षण अभियान सञ्चालन गरेपछि पछिल्ला वर्षमा हिउँ चितुवाको सङ्ख्या बढ्दै गएको एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो