ईलाम, १६ कार्तिक ।
भारतले गरेको नाकाबन्दीका कारण इलामका दर्जनौं चिया कारखानाले उत्पादन गरेको करोडौं रुपैंयाको तयारी चिया गोदाममै थन्किएको छ ।
भारत तथा भारत हुँदै तेस्रो मुलुक निकासी हुने चिया पठाउन भारतबाटै कन्टेनर आउन नसक्दा करोडौं रुपैयाँ घाटा भइरहेको चिया उद्योगीहरुले बताएका छन् । लामो समयदेखिको भारतीय अवरोध र मधेस आन्दोलनका कारण चिया निर्यात गर्न नसक्दा समस्या झेल्नुपरेको कन्यामस्थित सूर्योदय हाते कारखानाका सञ्चालक कमल खड्काले बताउनुभयो ।
अमेरिका, जर्मनी, बेलायतलगायत यूरोपियन देशहरुमा निकासीका लागि तयारी गरिएको डेढ करोड रुपैयाँ बराबरको चिया गोदाममै थन्किएको इलाम फिक्कल सुन्दरपानीस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले जानकारी दिनुभयो ।
नेपालमा वार्षिक २ करोड १० लाख किलो चिया उत्पादन हुने गरेको छ । उत्पादित चिया मध्ये सिटीसीको ५० प्रतिशत चिया नेपालमै खपत हुने र बाँकी भारत जाने गरेको छ भने अर्थोडक्सको १५ प्रतिशत उत्पादक नेपालमा खपत हुने तथा बाँकी तेस्रो मुलुक जाने गरेको छ ।
चिया निर्यात हुने यो मुख्य समयमा बेच्न नपाउँदा कारखानालाई मात्र होइन किसान र मजदुर सबैलाई असर पर्ने उद्योगीहरुको भनाइ छ ।