खोटाङ, १४ कात्तिक ।
खोटाङको पूर्वी गाविस अन्र्तगत नेर्पाका असिना पीडित किसानहरुले राहतको माग गरेका छन् ।
गत कात्तिक ६ गते वर्षासँगै परेको असिनाले सयौँ हेक्टरमा लगाइएको धान नष्ट बनाएको भन्दै असिना पीडितले जिल्ला प्रशासन कार्यालयसंग राहत मागेका हुन् ।
पाक्न लागेका धान असिनाले हिर्काएर झारी दिएपछि नेर्पाका पीडित किसानले क्षतिको अनुगमन मूल्याङ्कन गरी उचित राहतको व्यवस्था गरिदिर्न हिजो कृषि कार्यालय र जिल्ला दैवीप्रकोप उद्धार समितिसमक्ष माग राखेका छन् ।
शिखर जनउत्थान कृषक समूह नेर्पा–८ का अध्यक्ष कृष्णप्रसाद बास्तोलालाका अनुसार असिनाले ५९ घरधुरी किसानको ६ सय १५ मुरी धान नष्ट बनाएको प्रारम्भिक अनुमान गरिएको छ ।
भारी वर्षासँगै परेको असिनाले नेर्पाबाहेक पाथेका, खार्मी, दोर्पा्चिउरीडाँडा, निर्मलीडाँडालगायत गाविसमा लगाइएको अन्नबाली विनास गरेको जानकारी आएको कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो ।
असिनाले कोदो, करेला, सागपात, मुलालगायतका बालीनाली समेत नष्ट गरेको छ किसानहरुको दुखेसो छ । असिनाले पु¥याएको क्षतिको विस्तृत अध्ययन र तथ्याङ्क सङ्कलन गर्न प्राविधिकको टोली प्रभावित क्षेत्रमा पठाइसकेको घिमिरेको भनाइ छ ।