काठमाडौं, १३ कात्तिक ।
चिसो बढ्दै गए पनि जुम्लाका अधिकांश गाविसका पशुमा खोरेत रोगको सङ्क्रमण बढ्दो अवस्थामा देखिन थालेको छ ।
खोरेत रोगको सङ्क्रमणबाट सदरमुकामको दक्षिण पश्चिममा पर्ने रारालिही, कुडारी, मालिकाठाँटा, घोडेमहादेव, ताम्ती, तातोपानीसहित पूर्वी चौधबीस भेगका छुमचौर, पातारासी, डिल्लीचौर पटमारा र गुठीचौर गाविसका करिब ५० प्रतिशत पशु थलिएका छन् ।
खेतका गह्रा जोत्ने गोरु नै थला परेपछि हिउँदे मौसमको जौ तथा गहुँ बाली लगाउन कठिनाइ हुनेमा किसान चिन्तित छन् ।
जिल्ला पशुसेवा कार्यालय जुम्लाका निमित्त वरिष्ठ पशु विकास अधिकृत गोविन्दबहादुर महतले पशुमा देखिएको खोरेत रोगमा चिन्ता नलिन किसानलाई सुझाउनुभएको छ ।
खासगरी यो रोग वर्षामा लाग्ने भनिए पनि भाइरसले आफूलाई समयानुकूल बनाउँदै लग्ने भएकाले चिसो मौसममा पनि देखापर्ने गरेको पशु विकास अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताउनुभयो ।
उहाँले यो रोग लागेमा उत्पादनमा ह्रास आउने र किसानले सोचेअनुरुपको प्रतिफल नपाउने जनाउनुभयो । यो रोगको सङ्क्रमणले पाठापाठी, बाच्छाबाच्छी र गर्भिणी बाख्रा, गाईभैँसीमा बढी प्रभाव पार्ने र यस रोगबाट मृत्युदर भने निकै कम हुने उहाँको भनाइ छ ।
अहिले जिल्लाका विभिन्न सेवा केन्द्र, एग्रोभेट र जिल्ला कार्यालयबाट सेवा प्रवाह गरिरहेको र यदि रोगको सङ्क्रमण बढ्दै गएमा तथा किसानले भ्याक्सिनको माग गरेमा क्षेत्रीय निर्देशनालयबाट एफएमडी खोप मगाइने कार्यालयले जनाएको छ ।