फलेवास (पर्वत), १९ असोज । खेतीबाली लगाउनका लागि गोरु र हली पाउन मुस्किल हुँदै जाँदा पर्वतमा कृषिमा आधुनिकरण सुरु गरिएको छ ।
गोरु पाल्न महंँगो हुने र कृषिमा ज्यामीको समेत अभाव भएपछि व्यावसायिक खेती गर्ने कृषकले आधुनिक कृषि उपकरण प्रयोगमा ल्याउन थालेका हुन ।
पर्वतको ज्ञादी, शङ्करपोखरी, फलेवास, कुर्घा, पाङराङ्, बाच्छा, पाङ, धाइरिङलगायतका पकेट क्षेत्रमा आधुनिक उपकरणको प्रयोग बढ्दै गएको छ । पछिल्लो समयमा जमिन जोत्नका लागि ट्र्याक्टर र हाते ट्र्याक्टरलगायतका उपकरण प्रयोग गर्न थालिएको छ ।
“गोरु पाल्न खर्चिलो र महँगा भएका छन्” देवीस्थानका कृषक देवीप्रसाद भुसालले भन्नुभयो– “गोरु र ज्यामी खोज्नुभन्दा उपकरणले काम गर्दा धेरै सजिलो भएको छ ।” तरकारी खेतीबाट वार्षिक रु पाँच लाख भन्दाबढी आम्दानी गर्दै आउनुभएका भुसालले मेसिनले जोत्ने, खन्ने र अरु काम गर्दा धेरै सहज भएको बताउनुभयो ।
गाउँघरका युवा विदेश गएपछि खेतमा काम गर्ने ज्यामी नै पाउन मुस्किल भएको छ । मुस्किलले पाइए पनि ज्याला महङ्गो छ । यसैले कृषिमा आधुनिक उपकरणको प्रयोग बाध्यता हुँदै गएको शङ्करपोखरीका कृषक काशीराम पराजुलीले बताउनुभयो ।
हलो जोत्न पुरुष नै चाहिने, अझ बाहुन जातिले हलो जोत्न हुँदैँन भन्ने पुरानो मानसिकता गाउँघरमा कायमै छ । यस्तो बेलामा हाते ट्र्याक्टर जुनै जाति, लिङ्ग र वर्णका मानिसले आफ्नो अनुकुलले चलाउन सक्ने भएकाले यसको उपयोगिता अझै बढ्ने कृषकहरु बताउँछन ।
यसबाट जोत्न, धान रोप्ने जमिनको तयारी गर्न, ड्याङ बनाउन, आलु खन्न, पानी तान्न, बिजुली निकाल्नसमेत सकिने कृषि विशेषज्ञ निलकण्ठ शर्मा लम्सालले बताउनुभयो । “ठूलो ट्र्याक्टर नजाने ठाउँ र सानो गरा भएको भिरालो जमिनमा पनि हाते ट्र्याक्टर बढी उपयोगी देखियो” उहाँले भन्नुभयो ।
हाते ट्र्याक्टरबाट एक घण्टामा एक लिटर इन्धनबाट एक रोपनी जमिन जोत्न सकिन्छ । यसले उत्पादन लागत र समय बचत समेत हुन्छ । रासस