काठमाडौ १८ असोज ।
प्रमुख तीन दलले भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीका विषयमा भारतीय उच्च नेतृत्वसँग छलफल गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेता सम्मिलित बैठकले भारतीय नाकाबन्दीका कारण नेपाली जनता निकै पीडामा परेको ठहर गर्दै नाकाबन्दी खुलाउन भारतीय उच्च नेतृत्वसँग छलफल गर्ने निर्णय गरेको हो ।
बैठकमा आन्दोलनरत मधेसी दलसँग अहिलेसम्म भएका वार्ताका विषयमा पनि छलफल भएको थियो । यस्तै तीन दलीय वार्ता टोलीका सदस्यहरुले मधेसी दलले राखेका मागका बारेमा शीर्ष नेतृत्वलाई जानकारी दिँदै थप वार्ताका लागि अग्रसरता लिन आग्रह गरेका छन् ।
बैठकमा सहमतीय सरकार गठनका विषयमा पनि सामान्य छलफल भएको थियो । सहमतीय सरकार गठनका विषयमा थप छलफल गरिने नेताहरुले बताएका छन् ।
यसैबीच नयाँ सरकार निर्माणको बिषयमा नेताहरुको फरक फरक धारणा आईरहेको बेला बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकले नयाँ सरकार सहमति र सहकार्यकै बाटोबाट निर्माण गर्नु पर्नेमा जोड दिएको छ ।
बैठकले अहिलेको मुलुकको चुनौति सामाना गर्न र संविधान कार्यान्वयन गराउन समेत दलहरुवीचको सहमति अझै सुदृढ बढाउनु पर्ने आवश्यकतामा समेत जोड दिएको छ ।