काठमाडौ १८ असोज । सीमानाकामा लगाउदै आएको अघोषित नाकाबन्दी हटाउन भातरत सरकारले मातहतका निकायलाई निर्देशन दिएपनि अझैसम्म अवरोध हट्न सकेको छैन ।
भारतीय पक्षले मागे अनुसार तेल दिने प्रतिबद्धता जनाएपनि तेल भर्न दिएको छैन । शनिबार अबेर इन्डियन आयल कर्पोरेशन आइओसीले तेल भर्न दिने भनेपछि लिन गएका ट्यांकरलाई आइओसीका डिपोले तेल नदिएको नेपाल आयल निगमले जनाएको छ ।
माथिको आदेश भन्दै आइओसीका डिपोले तेल भर्न नदिएका हुन् । भारतले गत शनिबार साँझ नै सीमानाकाको अवरोध हटाउने बताएपनि त्यो अनुसारको व्यावहार देखिएको छैन ।
उसले तेल बोकेका गाडी पठाउन झनै कडाइ गरेको छ । हिजो काँकडभिट्टा नाकाबाट खाना पकाउने एलपी ग्यास बोकेको एउटा ट्यांकर नेपाल भित्रिएपनि जोगबनी, नेपालगञ्ज र धनगढी नाकाबाट इन्धन बोकेका एउटा पनि गाडी नेपाल भित्रिएका छैनन् ।
उता नेपालमा इन्धन आयातको मुख्य नाका मानिएको रक्सौल नाकामा भारतीय पक्षले थप कडाई गरेको छ । नेपालमा खपत हुने इन्धनको झण्डै ७० प्रतिशत इन्धन त्यही नाकाबाट आयात हुने गर्दछ ।
अन्य नाकाबाट तेलबाहेकका सामग्री नेपाल भित्रिएको भएपनि रक्सौल नाकाबाट कुनैपनि गाडी नेपाल भित्रिएका छैनन् । यो नाकाबाट खाना पकाउने एलपी ग्यास ८० प्रतिशत, हवाइ इन्धन ९० प्रतिशत, तथा ७० प्रतिशत डिजेल पेट्रोल भित्रने गरेको थियो ।
यस्तै तेल लोड गरेका तथा तेल लिन गएका खाली ट्यांकरहरु पनि भारतीय क्षेत्रमै रोकिएका छन् । सीमानाकामा गरिएको कडाइका कारण डिजेल र पेट्रोल लोड भएका एक सय ४४ वटा ट्यांकर १० दिनदेखि नेपाल भित्रिन नसकेको निगमले जनाएको छ ।
यसैगरी इन्धन लोड गर्नका लागि भारतीय भूमिमा पुगेका एक सय ५१ वटा ट्यांकर पनि उतै रोकिएका छन् । यस्तै खाना पकाउने एलपी ग्यासका दुई सय ७६ बुलेट भारतमै अड्केको निगमले जनाएको छ ।