मुगु, २५ भदौ । जिल्ला वन कार्यालयले बेमौसममा सङ्कलनको अनुमति दिँदा जडीबुटी लोप हुन थालेका छन् ।
मुगु गाविसका विभिन्न वन क्षेत्रमा पाइने यो जडीबुटी सङ्कलन गर्नका लागि कार्यालयले कटुकी साउन महिनामै दोर्जे स्टोरका तेन्जिन तामाङ, मुगु दोर्जे इन्टरप्राइजेजका देजेनदोर्जे तामाङ, बालक किराना एण्ड स्टेसनरीका प्रेमबहादुर बोहरा, एमके हर्वल्स टे«ड एण्ड सप्लायर्सका केसीबहादुर भण्डारी, सलिना सप्लायर्स एण्ड फेन्सी स्टोर र रारा सूर्योदय जडीबुटी अर्डर एण्ड सप्लायर्सलाई गरी जम्मा १० हजार ५०० किलो सङ्कलन गर्ने अनुमति दिएको छ ।
यसैबीच कार्यालयको लापर्बाहीका कारण मुगुका वन क्षेत्रमा पाइने जडीबुटी लोप हुने अवस्था सिर्जना हुँदै गएको र बेमौसमको सङ्कलनको अनुमति दिँदा सङ्कलनकर्ता र कार्यालयका केही कर्मचारीबीच आर्थिक चलखेल भएको सर्वसाधारणले आरोप लगाएका छन् ।
जडीबुटी संरक्षणका लागि मुगु गाविसका नौवटै वडाका सर्वसाधारण र जिल्लास्थित जडीबुटी व्यवसायीले सङ्कलनको अनुमतिपत्र रद्ध गर्न जिल्ला प्रशासन र वन कार्यालय समक्ष माग गरेका छन् । वन क्षेत्रका बहुमूल्य जडीबुडी संरक्षणका लागि उनीहरुले कार्यालय विरुद्ध आन्दोलन समेत गर्ने जिल्ला वन उपभोक्ता समितिका अध्यक्ष मेलबहादुर शाहीले बताउनुभयो ।
“भदौसम्म बोटको फल झरेको हुँदैन फल नझर्दै सङ्कलन अनुमति दिँदा अर्को वर्ष फेरि बोट कसरी फल्न सक्छ,” मुगु गाविसका उर्गिन तामाङ भन्नुुहुन्छ– “जडीबुटी सङ्कलन गर्नुपर्छ भनेर वन कार्यालयले तालिम दिने अनि आफँै उल्टै सङ्कलन गर्ने समय नपुग्दै अनुमति दिने गरेको छ ।”
जुनसुकै जडीबुटी सङ्कलन गर्ने समय आयो त्यो बेला जिल्ला वन कार्यालयले सूचनामार्फत जानकारी दिनुपर्नेमा सुटुक्क अनुमति दिनाले चोरी सिकारीसमेत बढेको अर्का जडीबुटी व्यापारी अङ्क बुढाको भनाइ छ । जडीबुटी परिपक्क हुनुभन्दा पहिल्यै सङ्कलन गरिँदा पछिल्ला वर्षहरुमा पहिलाको जस्तो जडीबुटी वनमा पाउन छोडेको उहाँले बताउनुभयो ।
वर्षभरि तीन महिना मङ्सिर, पुस र माग महिनामा मात्र कुनै पनि जडीबुटी सङ्कलन अनुमति दिन नसकिने तर अरु नौ महिना सबै किसिमका जडीबुटी सङ्कलनको अनुमति दिन मिल्ने जिल्ला वन कार्यालयका वरिष्ठ अधिकृत शिलानाथ झाको भनाइ छ ।
असोजदेखि कात्तिकसम्म सङ्कलनका लागि उपयुक्त हुने कटुकी आलो प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ भने सुकेको प्रतिकिलो रु एक हजारदेखि रु एक हजार ८०० सम्ममा स्थानीय तहमा बिक्री हुने गरेको छ । जिल्ला वन कार्यालयले कटुकीको प्रतिकिलो रु १५ का दरले राजस्व लिने गरेको छ ।