रामपुर (पाल्पा), २४ भदौ ।
पाल्पामा गएको आवमा ४८ हजार ८५८ लिटर दूध उत्पादनबाट रु २० लाख १८ हजार आम्दानी भएको छ ।
अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशतले दूधको उत्पादनमा बृद्धि भएको हो । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा ६० वटा दुग्ध डेरी फार्म दर्ता भई सञ्चालनमा छन् । यी डेरी फार्मबाट दैनिक ५३ हजार ३७० लिटर दूध उत्पादन हुने गर्दछ ।
फार्मबाहेक १७ हजार ७८६ लिटर दूध किसानको घरबाटै उत्पादन हँुदै आएको छ । दुग्ध डेरी फार्म सञ्चालनका लागि जिल्ला पशुसेवा कार्यालयले युवा लक्षित कार्यक्रमअन्तर्गत गाई र भैँसीपालक किसानलाई अनुदानस्वरुप रु २० हजार सहयोग गरेको थियो ।
कार्यालयका पशुचिकित्सक डाक्टर उत्तम आचार्यले व्यावसायिक पशुपालक किसानलाई भकारो सुधार, घाँस विकास, विभिन्न तालिम तथा रोग उपचारका सेवा दिँदै आएको बताउनुभयो । उत्पादित दूध जिल्लाका विभिन्न ठाउँमा खपत हुने गरेको छ ।
जिल्लामा व्यावसायिक रुपमा सञ्चालित ठूला तथा साना डेरी फार्मबाट पाँच सय युवा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । दूध उत्पादनकै लागि पछिल्लो समय किसानले व्यावसायिक पशुपालनमा जोड दिन थालेका छन् ।
दूधको उचित मूल्य पाउन थालेपछि तथा पशुफार्म सञ्चालनका लागि पशुसेवा कार्यालयले युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराएपछि गाईफार्म सञ्चालन गरेको रामपुरकी कृषक विष्नुदेवी गैरेले बताउनुभयो ।