काठमाडौ ९ भदौ ।
प्रमुख दलका शीर्ष नेताहरुले संविधानको विधेयकमा देखिएका असन्तुष्टि छलफलबाटै समाधान गर्न सकिने भन्दै वार्तामा आउन असन्तुष्ट पक्षहरुलाई आग्रह गरेका छन ।
संविधान सभाको जारी बैठकको सुरुमा बोल्दै प्रधानमन्त्री एबम काग्रेस सभापति सुशील कोइरालाले असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन आहृवान गर्नु भयो । उहाँले प्रदेश सिमांकनप्रति असन्तुष्टी जनाउदै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्नु भएको हो ।
उहाले कुनै पनि पक्षको आन्दोलनका कारण संविधान निर्माण प्रक्रिया भने नरोकिने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले संविधान सम्झौताको दस्तावेज भएकाले सबैका कुरा जस्ताको त्यस्तै समेटिन नसकिएपनि बेला बेलामा परिमार्जन गरेर जान सकिने बताउनुभयो ।
सिमांकनमा असन्तुष्टी जनाउदै भएको प्रदर्शनका क्रममा केही स्थानमा नसोचेको दुखद घटना भएको भन्दै उहाले मुलुकमा अमनचयन कायम गराउन सबैमा अपिल समेत गर्नु भएको छ । वार्ता र छलफल मार्फत नै असन्तुष्टिलाई सम्बोधन गर्न सकिने भएकाले आफु आन्दोलनरत पक्षसँग छलफल गर्न तयार रहेको उहाँको भनाई थियो ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिने चलखेल भइरहेको भन्दै सजक हुन आग्रह गर्नुभएको छ । संविधान सभाको जारी बैठकमा बोल्दै उहाँले संविधान निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला भइरहेको चलखेलप्रति सजग हुन आग्रह गर्नुभएको हो ।
फरक मत भिन्नता देखिनु स्वभाविक भएपनि संविधान बिथोल्न खोज्नेहरुले टिकापुर घटना घटाएको उहाको आरोप छ । टिकापुर घटना अमानवीय भएको भन्दै यस्ता गतिविधि हुन नदिन सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
छलफल र संशोधनबाट पनि नागरिकका विचार संविधानमा समेट्न सकिने भन्दै अध्यक्ष ओलीले सबै नेपाली एक हुनुपर्नेमा जाबताउनु भयो ।
नेपालका परिवर्तनलाई संविधानको मस्यौदाले आत्मसात गरेकाले पनि उत्पीडन, असमानता, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाभिमानको पक्षमा मस्यौदा उभिएको उहाको भनाई छ ।
यस्तै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको विधेयक परिमार्जन गरेर माग सम्बोधन गर्ने बाटो बाँकी रहेको भन्दै असन्तुष्टहरुलाई संयम बन्न आग्रह गर्नुभयो । उहाले आन्दोलनरत थारु र मधेसी मोर्चालाई संविधानसभाबाट अलग नहुन अपील गर्नुभयो ।
अध्यक्ष दाहालले असन्तुष्टहरुसँग इमान्दारिताका साथ वार्ताको पहल गर्न सरकारलाई आग्रह गर्नुैभयो । उहाले अब संविधान निर्माण प्रक्रियालाई भने अब कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभएको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जोखिम मोलेरै भए पनि आफूले संविधान निर्माण प्रक्रियालाई सहयोग गर्दै आए पनि अन्तिम समयमा आएर प्रमुख तीन दलले धोका दिएको आरोप लगाउनु भयो । उहाले मस्यौदा संशोधनमार्फत् ८ प्रदेशमा सहमति गरी आन्दोलनरत समुदायका माग सम्बोधन नभए संबिधान सभा छोड्ने चेतावनी दिनुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु अहिले संविधानसभाबाट संविधान जारी गर्न तयार रहेको तर प्रमुख दलले पेलेरै जाने नीति अबलम्बन गरिरहे संविधानसभाबाटै बाहिरिन सक्ने चेतावनी दिनुभयो ।