काठमाडौ ९ भदौ ।
मस्यौदा समितिले तयार पारेको संविधानको विधेयकमाथि आजबाट संविधान सभामा सैद्धान्तिक छलफल सुरु भएको छ ।
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधान विधेयक माथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएपछि संविधान सभामा सभासदहरुले बोल्नेक्रम सुरु भएको हो ।
संविधान सभा भवन नयाँबानेश्वरमा जारी बैठकमा विधेयकमा समावेश गरिएको विषयवस्तुमा सभासदहरुले धारणा राख्नेक्रम जारी छ । धारणा राख्नका लागि सभासदहरुलाई ५ मिनेटको समयसीमा तोकेको छ ।
बिहान ८ बजेदेखि सुरु भएको विधेयकमाथिको छलफल साँझ ७ बजेसम्म जारी रहने संविधान सभा सचिवालयले जनाएको छ । विधेयक माथिको छलफलमा भाग लिने सभासदको संख्या धेरै रहेको भन्दै सभाध्यक्ष नेमवाङले दैनिक ११ घण्टा छलफल चलाउने तयारी गर्नु भएको हो ।
संविधान विधेयक माथिको संद्धान्तिक छलफल सकिएपछि सभासदहरुले संसोधन प्रस्ताव दर्ताका लागि समय पाउनेछन् । संविधान सभा नियमावली अनुसार विधेयकमा संसोधन दर्ता गराउन सभासदहरुले सात दिनको समय पाउनेछन् । संसोधन प्रस्ताव दर्ता गराएपछि संधिान विधेयकमाथिको दफवार छलफल सुरु हुनेछ ।