काठमाडौं, ३ भदौ ।
प्रदेश सिमांकनको विषयमा असन्तुष्टि जनाउदै विभिन्न राजनितिक दलहरुले पश्चि तराई सहित मुलुकका विभिन्न ठाउमा गरेको बन्द आजपनि जारी छ । बन्दका कारण राजधानी बाहिरका जिल्लाहरुको जनजीवन निकै अस्तव्यस्त बनेको छ ।
सप्तरीको भारदहमा आजपनि विहानैबाट प्रदर्शन भइरहेको छ । भारदहमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका स्थानीय राजीव रावतको श्रद्धाञ्जली सभाको तयारी समेत भइरहेको छ ।
सभालाई सयुक्त मधेसी मोर्चा आवद्ध चारओटै दलका शिर्ष नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदर्शनकारीहरुले रावत लाई शहिद घोषणा गरिनुपर्ने र उनका परिवारलाई क्षतिपुर्ति दिइनुपर्ने माग गर्दै अझै सम्म शव बुझेका छैनन ।
उता सुर्खेतमा भएको आन्दोलनको आज ११ औं दिनमा प्रवेश गरेको छ । एघार दिनदेखिको बन्दका कारण त्यस भेगका सर्वसाधारणको दैनिकी नराम्ररी प्रभावित बनेको छ ।
आन्दोलनकारीहरुले निषेधाज्ञाको अवज्ञा गर्दै आन्दोलन सुरु गरेसंगै फेरि प्रदर्शन उग्र हुने देखिएको छ ।
सरकारी कार्यालय समेत नियन्त्रणमा लिन आज आन्दोलन केन्द्रीत रहने नागरिक संघर्ष समितिले जनाएको छ । समितिले सम्पूर्ण राजनीतिक दलहरुलाई पार्टीगत झण्डा त्यागेर आन्दोलनमा सहभागी हुन समेत आग्रह गरेको छ ।
आन्दोलनकारीले अखण्ड मध्यपश्चिम माग्दै भएको आन्दोलनका क्रममा मृत्यु भएका टिकाराम गौतम, यामबहादुर विसी र गोपालसिंह रजवारको नाममा विभिन्न चौकको नामाकरण समेत गरेका छन् ।