काठमाण्डौ, २ भदौ ।
उत्पिडित, बिभेदमा परेका तथा सर्वाहरा बर्गको हक अधिकारलाई ओझेलमा पारी बन्ने संबिधान दिगो नहुँने नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले बताउनुभएको छ ।
काठमाण्डौको संवाद डबलीमा आयोजित दलित मुक्ति आन्दोलनको चुनौती र आगामी कार्यदिशा बिषयक अन्तरकृयामा प्रमुख अतिथीको रुपमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले नयाँ संबिधानको मस्यौदामा दलित, जनजाति, मुस्लिम र महिलाहरुका अधिकारलाई बेवास्ता गरिएको बताउनुभयो ।
संसारमा जाति वर्ण र रङगभेद बिरुद्ध ठुलो संघर्ष भएको प्रसङ जोड्दै उहाँले एक दिन नेपालमा बिभेदको अन्त्य भएरै जाने दाबि गर्नुभयो । त्यसको अन्त्यका लागी क्रान्ति नै अन्तिम बिकल्प हुने पनी उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै सभाषद् कमला बिकले अब बन्ने संबिधान दलितमैत्री हुनेमा संका उत्पन्न भएको बताउनुभयो । उहाँले दलित मुक्ति मुद्धा सदियौँदेखिको भएकोले अब सबैले आफ्ना मागलाई सुनिश्चित गर्ने बेला आएको तर्फ संकेत गर्नुभयो । छुवाछुत मुक्त समाजको लागी लड्दा लड्दै संबिधान निर्माणपछि पनी बिभेद कायमै रहे त्यसको जिम्मा ठुला चार दलले लिनुपर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तिलक परियारले दलित मुक्ति आन्दोलनको चुनौती र आगामी कार्यदिशा बिषयक कार्य पत्र पस्तुत गर्नुभएको थियो ।
कार्य पत्रमाथी बिचार ब्यक्त गर्दै अधिकांश वक्ताहरुले उत्पिडित दलित समुदायले भोग्नु परेका यथार्थपरक पिडा र चुनौतीहरुलाई छर्लङ पारेको प्रतिकृया दिएका थिए । कार्यक्रममा बिभिन्न दलित संघ संगठनका अगुवा, बिज्ञ तथा बुद्धिजिवी लयायत सञ्चारकर्मिहरुको उपस्थिीती रहेको थियो ।