काठमाडौं, १ भाद्र ।
संविधानसभको मंगलबार बसेको बैठकले संविधान मस्यौदा समितिलाई आजदेखि लागू हुने गरि ४ दिन म्याद थप गरेको छ । मस्यौदा समितिलाई संविधानसभाको श्रावण २७ गते बसेको बैठकले बढिमा ५ दिनको समयसीमा दिएर संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदन भावी संविधानको अन्तिम मस्यौदा लेखनको भन्दै संविधान मस्यौदा समितिमा पठाएको थियो ।
मस्यौदा समितिले पाएको समयसीमा हिजो सोमबारबाट सकिए पछि आजबाट लागू हुने गरि पुन म्याद थपिएको हो । संविधानसभाको ११९ औं बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले अहिलेसम्म समितिले गरेको कार्य प्रगतिको जानकारी गराउँदै म्याद थपका लागि सभा समक्ष आग्रह गरेका थिए ।
म्याथ थपको आग्रह गर्दै सभापति सिटौलाले समितिले विशेष समितिको परामर्श अनुसार काम गरिरहेको र अझै कपितपय विषयहरु टुंगो लगाई अन्तिम मस्यौदा तयार गर्न बाँकी रहेकाले अझै ४ दिन समय आवश्यक भएको बताएका थिए । म्याद थप गर्ने प्रस्तावलाई सहमति प्रदान गर्दै अर्को सूचना नभएसम्मको लागि भन्दै संविधानसभा बैठक आजलाई स्थगित गरिएको छ ।