काठमाण्डौ,३१ साउन ।
दोहोरो बन्दका कारण पश्चिमका जिल्लाको जनजिवन कष्टकर बन्दै गएको छ । बिगत १० दिन देखीको जारी बन्दका कारण सुदुरपश्चिमका कैलाली र कन्चनपुरका स्थानिय मारमा परेका छन ।
यता संयुक्त थरुहट संघर्ष समितिले आह्वान गरेको ६ दिने आमहडतालका कारण थारु बाहुल्यता रहेका जिल्लाको जनजीवन कष्टकर बनेको छ । बाँके , बर्दिया, दाङ, , नवलपरासी, चितवन, सुनसरी, सप्तरी , सिरहा, रौतहट , बारा पर्सा लगायतका जिल्लामा बिहानैदेखि बन्दकर्ताहरु सडकमा प्रदर्शन गरीरहेका छन ।
उता अखण्ड मध्यपश्चिमको माग गर्दै निरन्तर भइरहेको आन्दोलनले सुर्खेतको जनजिबन कष्टकर बन्दै गएको छ । सातौं दिन देखी जारी आन्दोलनले जनजिवन कष्टकर बन्दै गएको हाम्रा सहकर्मीले जनाएका छन । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र मजदूर किसान पार्टीले मध्यपश्चिमलाई एक प्रदेश घोषणा गरी सुर्खेतलाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरेका छन् ।
यता बिगत ८ दिनदेखी अखण्ड रुकुमको माग गर्दै आन्दोलन पनि कायमै छ । आन्दोलनले त्यसक्षेत्रमा बजार, कलकारखाना, यातायात, शैक्षिक संस्थाका साथै सरकारी र गैरसरकारी कार्यालयसमेत बन्द छन । उता, जुम्लासहित कर्णाली अञ्चलको जनजीवन पनि बन्दबाट प्रभावित बनेको छ ।
विशेष अधिकारसहितको कर्णाली राज्य माग गर्दै थालिएको आन्दोलन हिंसात्मक बन्दै गएपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको हाम्रा सहकर्मीले जनाएका छन । बन्दका कारण त्यसक्षेत्रमा हवाई सेवा समेत ठप्प भएको छ । बन्दको समर्थन गर्दै जुम्लामा सरकारी तथा गैरसरकारी कार्यालय पनि बन्द गरिएका छन । बन्दका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको ओपिडी सेवा ठप्प छ ।