काठमाडौं, ३१ साउन ।
प्रमुख राजनीतिक दलका शीर्षनेताले संविधान लेखनमा भइरहेकोे प्रगति बारे राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराएका छन् ।
प्रमुख दलका शीर्षनेताहरु र राष्ट्रपति डा. यादवबीच शनिबार बेलुका राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा नेताहरुले संविधानका अधिकांश बुँदामा सहमति भएको र उपयुक्त दिन तोकेर जारी गरिने जानकारी गराएका हुन् ।
संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार पारिरहेको सन्दर्भमा राष्ट्रपति डा. यादवसँग छलफल भएको हो । राष्ट्रपतिसँगको भेटघाटपछि सञ्चारकर्मीसँग कुरा गर्दै संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान लेखनको पछिल्लो स्थितिबारे जानकारी माग भएकाले जानकारी दिन आफूहरू आएको बताउनुभयो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, संवाद समितिका सभापति डा. भट्टराई, मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला सम्मिलित छलफलमा राष्ट्रपति डा. यादवले छिटो संविधान लेखनको कार्य सम्पन्न होओस् भन्ने सदीक्षा व्यक्त गर्नुभएको र सबैको भावनालाई नयाँ संविधानमा समेट्न समेत आग्रह गर्नुभएको थियो ।
प्रमुख राजनीतिक दलका शीर्षनेता, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति र संविधान मस्यौदा समितिका सभापतिले संयुक्त रूपमा संविधान लेखनका बारेमा भएको प्रगतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराउँदै संविधान जारी गर्ने प्रक्रियाका बारेमा बताएका थिए ।
आफूहरूले अहिलेसम्म भएको सबै प्रगति र प्रक्रियाबारे जानकारी गराएको बताउँदै सभापति डा. भट्टराईले सोमबारसम्म मस्यौदा समितिबाट अन्तिम मस्यौदा संविधानसभामा प्रस्तुत गरि र छिट्टै प्रक्रिया पु¥याएर संविधान जारी गर्छौं भन्ने प्रतिबद्धता हामीले जनाएका बताउनु भयो ।